काठमाडौं । नेपाली चियाको ट्रेडमार्क पाउने उद्योगको संख्या २४ पुगेको छ। गत वर्ष १२ उद्योग र बिक्रेताले ‘नेपाल टि क्वालिटी फ्रम दि हिमालयज’ नामक ट्रेडमार्क पाएका थिए। यस वर्ष थप १२ जनाले पाएका छन्।
इलाम, पाँचथर र मोरङका चिया उद्योग र बिक्रेतालाई ट्रेडमार्क दिइएको हो। राष्ट्रिय चिया तथा कफी विकास बोर्डका कार्यकारी निर्देशक डा। विष्णुप्रसाद भट्टराई र सूर्योदय नगरपालिकाका प्रमुख रणबहादुर राईले संयुक्त रुपमा ट्रेडमाक हस्तान्तरण गरे।
अर्गानिक प्रमाणीकरण भएका तीनजुरे चिया उद्योग, नेपाल स्मल टि, लक्ष्मी टि इन्डष्ट्रिज, आरुबोटे टि स्टेट, अर्गानिक नेपाली टि इन्डष्ट्रिज, ग्रीनहिल अर्थोडक्स चिया प्रशोधन उद्योग, माङमालुङ टि स्टेट, ग्रीन भ्याली टि प्रालि, मातृभूमि टि स्टेट, इलाम टि हाउस , कञ्चनजंघा टि स्टेट र ब्रदर्श अर्थोडक्स टिले एकै पटक ट्रेडमार्क पाएका हुन्। गत वर्ष सूर्योदय नगरपालिकामा तत्कालिन कृषिमन्त्री घनश्याम भुसालको उपस्थितिमा पहिलो पटक चियाको लोगो हस्तान्तरण गरिएको थियो। बोर्डले दुई वर्षअघि चियाको ट्रेडमार्क कार्यान्वयनमा ल्याएको थियो। यस पटक इलामका १० , पाँचथर १ र मोरङको एक उद्योगले ट्रेडमार्क पाएका छन्।
ट्रेडमार्क प्रयोग गर्न चियाको अन्तिम उत्पादकले राष्ट्रिय चिया तथा कफी विकास बोर्डले तोकेको मापदण्ड पूरा गरी बोर्डमा आवेदन गर्नुपर्छ। तोकिएको मापदण्ड शतप्रतिशत पूरा गरेका उद्योगले मात्रै ट्रेडमार्क पाउँछन्।