काठमाडौं । बैंकहरुले प्रकाशन गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरण अनुसार यो अवधिमा सञ्चालनमा रहेका २० वाणिज्य बैंकमध्ये झण्डै आधा बैंकको नाफा घट्न पुगेको हो । अर्थतन्त्रमा सुधार नदेखिँदा बाणिज्य बैंकहरुमा गहिरिँदै गएको खराब कर्जाले नाफामा असर गर्न थालेको छ । गत वर्ष पुस मसान्तसम्मको तुलनामा चालु आवको पुस मसान्तसम्म बाणिज्य बैंकहरुको अधितकतम ९२ प्रतिशतसम्मले नाफा घटेको छ ।
चालु आवमा प्रभु बैंकले नाफा गत वर्षको तुलनामा ८५ प्रतिशतले बढाएर १ अर्ब ३३ करोड रुपैयाँ पुर्याएको छ भने नेपाल इन्भेष्टमेन्ट मेघा बैंकले ५७.१८ प्रतिशतले बढाएर नाफा २ अर्ब ८३ करोड रुपैयाँ पुर्याएको छ । यो अवधिमा ग्लोबल आइएमई बैंकले पनि नाफामा ४९.५१ प्रतिशतले बढाएर ३ अर्ब ५ करोड पुर्याएको छ।
त्यस्तै नाफामा सधैँ अगाडि देखिने नबिल बैंकले भने गत वर्षको तुलनामा उल्लेख्य नाफा बृद्धि गर्न नसकेको देखिन्छ । गत वर्षको तुलनामा यो बर्षको पुस मसान्तसम्ममा नविल बैंकले नाफामा १.२९ प्रतिशतकोमात्रै बृद्धि गर्न सफल बनेको छ । चालु आवको पुस मसान्तसम्म यो बैंकको नाफा ३ अर्ब २४ करोड रुपैयाँ छ। नाफामा सामान्यमात्रै बृद्धि गरेको बैंकले यो पटक पनि सर्वाधिक कमाउनेमा पहिलो नम्बरमा रहेका छन् । दोस्रोमा रहेको ग्लोबल आइएमईले नाफामा उल्लेख्य सुधार गरेपनि नबीललाई जित्न सकेको छैन ।
यो बाहेक चालु आवमा नाफा बढाउनेमा ८ वटा बाणिज्य बैंकहरु रहेका छन् । नबिल बैंक र ग्लोबल आईएमई बैंक नाफामा ३ अर्ब माथि छन् भने एनएमबी, नेपालल इन्भेष्टमेन्ट र एभरेष्ट बैक नाफामा २ अर्ब माथि रहेका छन् । १ अर्ब माथि नाफा भएका प्राइम बैंक र स्टान्डर्ड चार्टड बैंकको भने पुस मसान्तमा आइपुग्दा गत वर्षको तुलनामा नाफा खुम्चिएको देखिन्छ । गत वर्षको तुलनामा यो वर्ष यी दुई बैंकहरुको क्रमश १४.३४ प्रतिशत र ४.९७ प्रतिशतले नाफा घटेको छ ।
यो बाहेक एक अर्ब माथिको नाफा गर्नेमा भने हिमालयन, सानिमा , लक्ष्मी सनराईज र प्रभु बैंक रहेका छन् । जसमा प्रभु बैंकले एकैपटक नाफामा ८५ प्रतिशतको बृद्धि गर्दा सानिमाले ४.७२ प्रतिशत,लक्ष्मी सनराईजनको ९.७१ प्रतिशतले नाफा बढाएको छ । करोडमा मात्रै नाफा कमाउनेमा भने यो पटक ९ वटा बाणिज्य बैंकहरु रहेका छन् ।
जसमा कृषि विकास बैंकले ९५ करोड नाफा कमाउँदा नेपाल एसबीआई बैंकले ९० करोड, माछापुच्छ्रे बैंकले ८० करोड , बाणिज्य बैंकले ७६ करोड, सिटिजन्स बैंकले ६६ करोड, सिद्धार्थ बैंकले ५३ करोड, नेपाल बैंकले ४६ करोड, कुमारी बैंकले २७ करोड र एनआइसी एसिया बैंकले १५ करोड रुपैयाँ मात्रै नाफा कमाएका छन् ।
यी मध्ये एनआइसी एसिया बैंकको नाफामा ९२ प्रतिशतले गिरावट आउँदा नेपाल बैंकको नाफामा २१ प्रतिशतले, सिद्धार्थ बैंकको नाफा ५३ प्रतिशतले र बाणिज्य बैंकको नाफा ६२ प्रतिशतले घटेको देखिन्छ ।