काठमाडौं । सशस्त्र प्रहरी बलको नेपाल एपिएफ फुटबल क्लबले एन्फा महिला लिग २०८१ को उपाधि जितेको छ । लगातार चौथो पल्ट लिगको उपाधि जित्ने क्रममा एपिएफ क्लबले आज दशरथ रंगशालामा भएको उपाधि भिडन्तमा नेपाल पुलिस क्लबलाई ४-० गोलले पराजित गर्दै उपाधि जितेको हो । एपिएफ क्लबले पुलिस क्लबविरूद्ध आज चारै गोल दोस्रो हाफमा गरेको हो ।
खेलमा सविता राना मगरले दुई गोल गर्न सफल भइन् । उनले खेलको ६४ र ८३ मिनेटमा गोल गरेकी हुन् । त्यसअघि ६९ मिनेटमा एपिएफ क्लबका लागि सरू लिम्बूले अग्रता दोब्बर पारेकी थिइन् । एपिएफ क्लबका लागि चौथो गोल अनु लामाले ९०+५ मिनेटमा गरेकी थिइन् । एपिएफ क्लबकी अनुभवी खेलाडी अनुको यो अन्तिम घरेलु फुटबलको म्याच हो ।
तीन चरणमा भएको एन्फा महिला लिगको अन्तिम चरणमा पाँच टोली भिडेका थिए । जसमा शीर्ष चार टोली प्लेअफमा पुगेका हुन् ।प्लेअफअन्तर्गत दुई वटा क्वालिफायर र एउटा एलिमिनेटर भएको थियो । एपिएफ क्लबले लिगको उपाधि जित्ने क्रममाअपराजित रहदै उपाधि उचाल्न सफल भएका छन् ।
एपिएफ क्लबले समग्रमा छैटौं पटक उपाधि जितेको हो । सन् २०१७-१८ पछि भने एपिएफले लगातार चार पटक उपाधि जित्न सफल भएको छ ।