काठमाडौं । काठमाडौंमा आजदेखि सुरू भएको नेपाल, नेदरल्याण्ड्स र थाइल्याण्ड सम्मिलित महिला टी२०आई श्रृंखलाको पहिलो खेलमा नेपाल र नेदरल्याण्ड्स खेलिरहेका छन् । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा भइरहेको खेलमा नेपालकी कप्तान इन्दु बर्माले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेकी हुन् ।
नेपालका लागि दुई खेलाडीले डेब्यू गर्दै छन् । एलिशा कुमारी यादव र मनिषा उपाध्यायले डेब्यू गर्न लागेका हुन् । एलिशा नेपालको यू-१९ विश्वकप टोलीमा थिइन् भने मनिषाले यसअघी यू-१९ टोलीबाट खेलेकी थिइन् । उनी भर्खरै सम्पन्न महिला पीएम कपमा सर्वाधिक विकेट लिने खेलाडी समेत रहेकी छिन् ।
नेपाल र नेदरल्याण्ड्स बीच महिला क्रिकेटमा पहिलोपटक प्रतिस्पर्धा हुन लागेको हो । पहिलोपटक खेल्न दुवै टोली उत्साहित भएका छन् । श्रृंखलामा सबै टोलीले एक अर्कासँग ३३ खेल खेल्ने छन् । नेपालले दोस्रो खेल शनिबार थाइल्याण्डसँग खेल्ने छ । माघ २० मा नेदरल्याण्ड्स, माघ २२ मा थाइल्याण्ड, माघ २३ मा नेदरल्याण्ड्स र माघ २५ मा थाइल्याण्डसँग खेल्ने छ ।
फाइनल नहुने भएकाले सबै खेल सकिँदासम्म धेरै खेल जितेर उच्च अंक हासिल गर्ने टिम श्रृंखलाको विजेता बन्ने छ । नेपालको प्लेइङ ११ मा इन्दु बर्मा (कप्तान), सम्झना खड्का, कविता कुँवर, रुबिना क्षेत्री, कविता जोशी, सीता रानामगर, पुजा महतो, अलिशा कुमारी यादव, बिन्दु रावल, मनिषा उपाध्याय र ईश्वरी विष्ट रहेका छन् ।