मंगलवार, आश्विन १३ गते २०८३

महिला टी-२० सिरिजमा नेपालले नेदरल्यान्ड्सलाई दियो १ सय ४६ रनको टारगेट

बुधवार , माघ २३, २०८१

काठमाडौं । महिला त्रिकोणात्मक टी-२० सिरिजको पाँचौँ खेलमा नेपालले नेदरल्यान्ड्सलाई १ सय ४६ रनको टारगेट दिएको छ । टस जितेर पहिले ब्याटिङ रोजेको नेपालले २० ओभरको खेल सकिँदा ४ विकेटको क्षतिमा १ सय ४५ रन बनाएको छ ।

यसअघिका चारवटै खेलमा पराजित भएको नेपालको फाइनलमा पुग्ने सम्भावना सकिएको छ । नेदरल्यान्ड्स र थाइल्यान्डसँग समान दुई खेलमा नेपाल पराजित भइसकेको छ । नेपालले नेदरल्यान्ड्ससँग अन्तिम खेल खेलिरहेको हो भने थाइल्यान्डसँग पनि अन्तिम खेल बाँकी रहेको छ । तीन टोलीले एकअर्काविरुद्ध समान तीन खेल खेलेपछि शीर्ष दुई टोली उपाधिका लागि भिड्नेछन् । 

नेपालका लागि पुजा महतोले अविजित अर्धशतक बनाइन् । पुजाले ५१ बलमा पाँच चौकासहित ६२ रन बनाइन् । यो यस शृंखलाकै उच्च व्यक्तिगत स्कोर हो । कप्तान इन्दु बर्माले ३९ रन, रुबिना क्षेत्रीले २० रन, सम्झना खड्काले ६ रन र ममता चौधरी १ रन बनाइन् । नेदरल्याण्ड्सका लागि आइरिस विलिङले २ विकेट लिँदा कारोलिन डे लाङ र हिथर सिगर्सले १-१ विकेट लिएका छन् ।

चौथो नम्बरमा ब्याटिङमा आएकी पुजाले शृंखलामै नेपालका लागि पहिलो अर्धशतक बनाएकी हुन् । पुजाको यो दोस्रो टी-२०आई अर्धशतक हो । यसअघि उनले सन् २०२४ मा माल्दिभ्सविरूद्ध अर्धशतक बनाएकी थिइन् ।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार