काठमाडौं । धनगढीमा एक बालिकामाथि बलात्कार भएको छ । जिल्ला प्रहरी कार्यालय कैलालले धनगढी उपमहानगरपालिका वडा नम्बर २ मा बसेर अध्ययन गर्दै आएकी १४ वर्षीया बालिकामाथि बलात्कार भएको जनाएको छ । प्रहरीका अनुसार पीडित बालिका बाजुराको खप्तडछेडेदह गाउँपालिकाकी हुन् ।
धनगढीमा बसेर अध्ययन गर्दै आएकी बालिका गत बिहीबार साँझ जबरजस्ती करणीमा परेकी हुन् । प्रहरीका अनुसार स्कुलबाट घर फर्किने क्रममा सडकमा रोकेर युवकले चक्कु देखाउँदै आफूसँग नहिँडे मारिदिने धम्की दिएका थिए । त्यसपछि उनी धनगढीकै १८ वर्षीय युवकसँगै उनको घर पुगेकी थिइन् । बालिकामाथि घरमै जबरजस्तीकरणी गरेर युवक भागेका छन् । पीडित बालिकाले शनिबार मात्र प्रहरीलाई घटनाबारे खबर गरेकी हुन् । जिल्ला प्रहरी कार्यालय स्रोतका अनुसार शनिबार साँझ मात्र किटानी जाहेरी प्राप्त भएको बताएका छन् ।
बालिकालाई चक्कु देखाउँदै डर, त्रासमा पारेर घरमै लगेर जबरजस्तीकरण गर्ने युवकको खोजी भइरहेको प्रहरीले जनाएको छ । पीडित बालिका कक्षा ७ मा अध्ययनरत विद्यार्थी हुन् ।