आइतवार, श्रावण २४ गते २०८३

‘अच्छा लिकिन लण्डनको चिसोले समाउला’ गीत फिल्म ‘नरसिंहाः अवतार’ मा समावेश

आइतवार , माघ २७, २०८१

काठमाडौं । ‘अच्छा लेकिन लण्डनको चिसोले समाउला’ चर्चित गीत फेरि दर्शकमाझ आउने भएको छ । चैत्र २९ गतेबाट रिलिजमा आउन लागेको फिल्म ‘नरसिंहाः अवतार’ मा यो गीतलाई समावेश गरिएको छ ।

पुरानो गीतमा संगीतकार तथा गायक शम्भुजित बाँस्कोटा र गायिका देविका बन्दनाको स्वर रहेको थियो । नयाँ भर्सनमा भने शम्भुजित र गायिका रचना रिमालले स्वर भरेका छन् । गीतको भिडियोलाई ४ दिन लगाएर खिचिएको छ । जरसिंहपौवामा सेट नै लगाएर हिमाललाई काखमा राख्दै यो गीतको भिडियो खिचिएको हो । गीतको भिडियोमा कविराज गहतराजको कोरियोग्राफी रहेको छ । फिल्मका निर्देशक दिवाकर भट्टराइले १५ लाख रुपैयाँ खर्च गरेर गीतको भिडियो तयार पारिएको हो । यो गीतमा फिल्मका मुख्य कलाकारहरु राजेश हमाल, सरोज खनाल, राज कटुवाल, नीति शाह, उषा खड्गी, सनिषा भट्टराइले नृत्य गरेका छन् ।

चिसो हावामा र धुलो उडेका कारण पनि छायाङ्कनमा केही कठिनाई भएको कलाकारहरुले बताएका छन् । तर, दर्शकले यो गीतको भिडियोलाई रुचाउनेमा उनीहरु विश्वस्त रहेका छन् । नायक राजेश हमालले यो गीतले आफूलाई फेरि विगतमा फर्काएको भन्दै दर्शकले मन पराउने विश्वास व्यक्त गरेका छन् । गीतको भिडियोमा नायक हमाल र अर्का नायक कटुवाललाई कर्नेलको अवतारमा देख्न सकिन्छ । यो फिल्ममा नायक हमाल र खनालले ३२ वर्षपछि सहकार्य गर्ने भएका छन् । यसैले दुवैजना गीत छायाङ्कनका क्रममा मिडियासँग उत्साहित देखिएका छन् ।

गीतको भिडियोमा सय कोरस र त्यती नै संख्यामा दर्शक राखिएको छ । एक्सन र लभ स्टोरी कथामा निर्माण भएको यो फिल्ममा दर्शकले विविधता देख्न पाउने विश्वास निर्माण पक्षको रहेको छ । नायक कटुवालले सुरु सुरुमा नायक हमालसँग नाँच्दा केही डर लागे पनि पछि सहज भएको बताएका छन् । यो पूर्व मिस नेपाल उषा खड्गीको डेब्यू फिल्म हो । यसैले डेब्यू फिल्मलाई लिएर उनको छुट्टै प्रकारको उमंग देखिएको छ । यही फिल्मबाट नायक हमाल ८ वर्षपछि पर्दामा फर्किंदैछन् । 

प्रतिक्रिया
सम्बन्धित समाचार