काठमाडौं । महाकाव्यका गम्भीर भाव, राष्ट्रिय चेतना, मातृभूमिप्रतिको समर्पण र मानवीय संवेदनालाई संगीतको मधुर लयमा बाँध्दै श्रोतामाझ पुर्याउने उद्देश्यले तयार गरिएको गीति एल्बम ‘जागृति’ राजधानी काठमाडौंमा आयोजित विशेष समारोहबीच लोकार्पण गरिएको छ ।
मिलापको आयोजनामा सम्पन्न कार्यक्रममा साहित्य, संगीत र संस्कृतिको त्रिवेणी संगमको अनुभूति गराउँदै महाकाव्यकार खेमनाथ दाहालका सिर्जनालाई नयाँ पुस्तासँग जोड्ने प्रयास गरिएको थियो ।
दाहालद्वारा रचित ‘स्वेतपत्र’ महाकाव्य तथा ‘योद्धा’ काव्यबाट साभार गरिएका गीतहरू समेटिएको ‘जागृति’लाई नेपाली काव्य परम्पराको भावभूमिमा संगीतको नवीन प्रयोगका रूपमा प्रस्तुत गरिएको छ ।
चलचित्र निर्देशक माधवराज खरेलको सहजीकरणमा सम्पन्न भएको समारोहको सभापतित्व मिलापका प्रधान सम्पादक कृष्ण भुसालले गर्नुभएको थियो भने प्रमुख अतिथिका रूपमा शिक्षाविद् डा. यज्ञेश्वर निरौलाको उपस्थिती थियो ।
समारोहको प्रारम्भमा गायक रमेश पाठकले स्वागत मन्तव्य व्यक्त गर्दै साहित्यिक सिर्जनालाई संगीतमार्फत आम श्रोतासम्म, विशेषतः युवा पुस्तामाझ पुर्याउनु समयको आवश्यकता भएको उल्लेख गरे । उनले ‘जागृति’ केवल एउटा गीति एल्बम नभई नेपाली साहित्यलाई श्रव्य–दृश्य माध्यमबाट नयाँ पुस्तासम्म पुर्याउने अभियानको महत्त्वपूर्ण कोशेढुंगा बन्ने विश्वास व्यक्त गरे ।
कार्यक्रममा एल्बममा समावेश पाँच गीत ‘बुद्धको देश नेपाल’, ‘लालीगुराँसको साटो’, ‘बित्छ बिहान आमाको’, ‘फुल्छ बागमा फूल’ र ‘गाउँछौ अब लौ आमाका गीत’ औपचारिक रूपमा सार्वजनिक गरिएको थियो । यी गीतहरूमा राष्ट्रप्रेम, मातृत्व, प्रकृतिप्रेम, सांस्कृतिक गौरव र मानवीय संवेदनाका विविध आयाम सशक्त रूपमा अभिव्यक्त भएका छन् ।
एल्बमका तीन गीत ‘बुद्धको देश नेपाल’, ‘लालीगुराँसको साटो’ र ‘फुल्छ बागमा फूल’ मा कीर्तिमानी संगीतकार तथा गायक श्रेष्ठको स्वर रहेको छ । त्यसैगरी ‘बित्छ बिहान आमाको’ मा वरिष्ठ गायिका ज्ञानु राणा तथा ‘गाउँछौ अब लौ आमाका गीत’ मा गायक रमेश पाठकको स्वर सुन्न सकिन्छ । सम्पूर्ण गीतमा संगीतकार सन्तोष श्रेष्ठले संगीत गर्नुभएको छ । कार्यक्रममा उपस्थित साहित्यकार, कलाकार तथा अतिथिहरूले गीतहरूको श्रव्य(दृश्य प्रस्तुति अवलोकन गर्दै सकारात्मक प्रतिक्रिया व्यक्त गरेका थिए ।