काठमाडौं । उदयपुरमा जन्ती बोकेको बस र मिनी ट्रक ठोक्किदा एक जनाको मृत्यु भएको छ । बस दुर्घटनामा २६ जना घाइते भएका छन् । घाइतेमध्ये ३ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।
प्रदेश प्रहरी कार्यालय विराटनगरका अनुसार मदन भण्डारी राजमार्गअन्तर्गत उदयपुरको उदयपुरगढी गाउँपालिका-७ जोगी टोलमा प्रदेश ०६-००१ ख ०१९५ नम्बरको बस र ना ८ ख २४०४ नम्बरको मिनी ट्रक ठोक्किएर दुर्घटना भएको हो । बाराबाट जन्ती लिएर गाईघाटतर्फ आउँदै गरेको बस र गाइघाटबाट तेज पत्ता बोकेर जाँदै गरेको मिनी ट्रक ठोक्किएर दुर्घटना भएको हो । दुर्घटनामा परेर बसमा सवार बाराको बारा गढी गाउँपालिका-४ का ७० वर्षीय सीताराम धामीको मृत्यु भएको ट्राफिक प्रहरीले बताए ।
दुर्घटनामा परेर गम्भीर घाइते भएका उनलाई थप उपचारका लागि विराटनगरको न्युरो अस्पताल ल्याइएको थियो । उपचारका क्रममा बिहान मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा परेर बाराको बारा गढी गाउँपालिका-४ का ४२ वर्षीय श्रीकान्त बछार, ५५ वर्षीय बलिराम चौधरी र १५ वर्षीय दीपक चौधरी गम्भीर घाइते भएका छन् । तीनै जनाको विराटनगर न्युरो अस्पतालमा उपचार भइरहेको छ ।
दुर्घटनामा बसका चालक रौतहटको फतुवा विजयपुर नगरपालिका-११ का ४५ वर्षीय कपिलदेव थारु, ट्रक चालक बाराको जितपुरसिमरा उपमहानगरपालिका-२४ का २५ वर्षीय सजाद आलम, सहचालक जितपुरसिमरा-२४ का अन्दाजी २४ वर्षीय सयम देवानसमेत घाइते भएका छन् । उनीहरूको अवस्था सामान्य रहेको छ ।