काठमाडौं । त्रिशूली नदीमा आज बिहान भेटिएको शव ९ दिनअघि मोटरसाइकल दुर्घटना हुँदा त्रिशूलीमा हराएका रोहित रानाकै रहेको पुष्टि भएको छ ।
रानाको शव नारायणगढ-मुग्लिन सडकखण्ड अन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका-५ कालीखोला जलविरे स्थित त्रिशूली नदीको किनारमा पानीमा तैरिरहेको अवस्थामा फेला परेको हो । नारायणगढ-मुग्लिन सडकखण्ड अन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका-५ मा मोटरसाइकल दुर्घटनामा परी त्रिशूलीमा खस्दा २७ वर्षीय राना फागुन २ गतेबाट बेपत्ता भएका थिए । त्रिशूलीमा तैरिरहेको अवस्थामा उनको शव आज बिहान फेला परेको हो ।
दुर्घटनामा परी बेपत्ता भएका रानको खोजीका लागि सशस्त्र प्रहरीको गोताखोर निरन्तर परिचालन गरिएकोमा आइतबार विहान सशस्त्र प्रहरी बल, नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट सशस्त्र प्रहरी निरीक्षक भुल बहादुर थापाको कमाण्डमा परिचालित गोताखोरसहितको सुरक्षा फौजले उनको शव आइतबार विहान साढे ९ बजे फेला पारेर नदिबाट बाहिर निकालेको हो । इलाका प्रहरी कार्यालय मुग्लिन स्रोतका अनुसार रानाको शव अहिले पोस्टमार्टमका लागि भरतपुर अस्पताल लगिएको छ ।
चितवनको भरतपुर महानगरपालिका-१ रामनगर घर भएका राना बागमती प्रदेश ०६-०२ प ९२०४ नम्बरको मोटरसाइकलमा एक्लै काठमाडौंका लागि रामपुरबाट निस्किएका थिए । फागुन २ गते बिहान करिब १२ बजेको समयमा राना सवार मोटरसाइकल सडक छेवैको डिभाइडरमा ठोक्किँदा त्रिशूलीमा खसेका थिए । मोटरसाइकल भने सडकमै थियो । भारतीय सेनामा कार्यरत राना छुट्टीमा घर आएका बेला दुर्घटनामा परेका थिए ।