आइतवार, श्रावण २४ गते २०८३

संस्कृतिमन्त्री बद्रीप्रसाद पाण्डेको नेतृत्वमा पशुपतिमा प्रभातफेरी कार्यक्रम

सोमवार , फाल्गुण १२, २०८१

काठमाडौं । महाशिवरात्रि पूर्वसन्ध्यामा पशुपतिनाथ मन्दिर परिसरमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेको नेतृत्वमा प्रभातफेरी कार्यक्रम सम्पन्न भएको छ ।

आज पशुपति क्षेत्र विकास कोषले आयोजना गरेको प्रभातफेरीमा सहभागी हुन संस्कृति राज्यमन्त्री अरुण चौधरीका साथ मन्त्री पाण्डे बिहान पशुपतिनाथ मन्दिर पुगेका हुन् । प्रभातफेरीमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी सहभागी भएका थिए । प्रभातफेरीमा कोषका पदाधिकारी, संस्कृत विद्याश्रमका विद्यार्थी, गुरु र स्थानीयको बाक्लो सहभागिता रहेको थियो । पशुपति मूलढोकाबाट सुरु भएको प्रभातफेरी पिंगलास्थान, गौशाला र जयबागेश्वरी हुँदै मन्दिर परिसर परिक्रमा गरी पुनः मन्दिर मूलढोका पुगेर समापन भएको थियो ।

प्रभातफेरीपछि मन्दिर परिसर निरीक्षण गर्दै मन्त्री पाण्डेले पशुपति पुग्ने भक्तजनलाई सहज दर्शन व्यवस्था मिलाउन कोषलाई निर्देशन दिएका छन् । शिवरात्रि पूर्वसन्ध्यामा आज पशुपति मन्दिरमा दर्शनार्थीको घुइँचो थियो । दर्शनार्थीलाई असुविधा नहोस् भनेर मन्त्री पाण्डे मूलमन्दिर परिक्रमा गरेर मात्र फर्किएका थिए । यसैबीच कोषले महाशिवरात्रिका लागि सबै तयारी पूरा भएको जनाएको छ । बुधबार (फागुन १४) मा परेको महाशिवरात्रिमा नेपाल र भारत लगायत देशबाट साधुसन्त आउने क्रम जारी रहेको छ । साधुसन्तका लागि खानेबस्ने सुविधा प्रबन्ध गरिएको छ ।

शिवरात्रि (फागुन कृष्ण चतुर्दशी) मा आउने साधुसन्तलाई धुनीका लागि आवश्यक सबै प्रबन्ध मिलाइएको छ । शिवरात्रिको भोलिपल्ट औंसीका दिनमा उनीहरूलाई दक्षिणासहित बिदा गरिने छ । महाशिवरात्रिका अवसरमा वर्षैपिच्छे पशुपतिनाथ मन्दिरमा मेला लाग्ने गर्दछ । पशुपति दर्शनका लागि मन्दिर पुग्ने भक्तजनको सुविधाका लागि सम्पूर्ण तयारी पूरा गरिएको कोषले जनाएको छ ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार