आइतवार, श्रावण २४ गते २०८३

ललितपुरको जेष्ठ महाविहारलाई अवार्ड अफ मेरिट हस्तान्तरण

शुक्रवार , आषाढ १९, २०८३

काठमाडौं । भारत सरकारको अनुदान सहयोगमा कार्यान्वयन गरिएको ललितपुरस्थित जेष्ठ वर्ण महाविहारलाई सन् २०२५ को युनेस्को एसिया–प्रशान्त साँस्कृतिक सम्पदा संरक्षण पुरस्कार अन्तर्गत अवार्ड अफ मेरिट हस्तान्तरण गरिएको छ । 

असार १८ गते प्रतिष्ठित उक्त अवार्ड एक् कार्यक्रमको बिच हस्तान्तरण गरिएको हो ।

नेपालका लागि युनेस्कोका प्रतिनिधि याको दु तोईले ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जन र काठमाडौँस्थित भारतीय राजदूतावासका नियोग उप–प्रमुख डा. राकेश पाण्डेको उपस्थितिमा गरेका हुन् । धातुपट्टिका र आधिकारिक प्रमाणपत्र जेष्ठ वर्ण महाविहार उपभोक्ता समितिलाई हस्तान्तरण गरिएको हो । 

उक्त समारोहमा स्थानीय समुदायका सदस्यहरु, इन्डियन नेशनल ट्रष्ट फर आर्ट एन्ड कल्चरल हेरिटेज (इन्ट्याक) का प्रतिनिधि, सम्पदा संरक्षणविद्हरु तथा नेपाल सरकारका अधिकारीहरुको उपस्थिति रहेको थियो ।

जेष्ठ वर्ण महाविहारको संरक्षण कार्य नेपालको साँस्कृतिक सम्पदा क्षेत्रमा भारत सरकारको भूकम्पपछिको पुनर्निर्माण अनुदानको एक हिस्साको रुपमा नेरु. १३.७८ करोड लागतमा अघि बढाइएको थियो । 

पुनर्निर्माण प्रयासको हिस्सा स्वरुप भारत सरकारले प्राविधिक विशेषज्ञता उपलब्ध गराउनका लागि परियोजना व्यवस्थापन परामर्शदाताको रुपमा भारतको इन्ट्याकलाई नियुक्त गरेको थियो । 

उनीहरुले नेपाल सरकारको केन्द्रीय आयोजना कार्यान्वयन इकाई र स्थानीय समुदायसँग निकटतम समन्वयमा काम गरेका थिए ।

यस परियोजनाको उद्घाटन मिति २०८० चैत्र ९ गते महामहिम राजदूत नवीन श्रीवास्तव र नेपाल सरकारका तत्कालीन शहरी विकास मन्त्री धनबहादुर बुढाद्वारा गरिएको थियो । 

यस संरक्षण परियोजनालाई युनेस्कोले यसको अनुकरणीय समुदाय–केन्द्रित दृष्टिकोण र जटिल ऐतिहासिक नेवारी काष्ठकला तथा पारम्परिक वास्तुकलाको संरक्षणको आवश्यकतासँग आधुनिक भूकम्पीय सुरक्षा प्रबलीकरणलाई सफलतापूर्वक सन्तुलन राखेकोमा मान्यता प्रदान गरेको छ । 

यस परियोजनाले संरक्षण प्रक्रिया अवधिभर नेवार बौद्ध समुदायको जीवन्त सम्पदा, दैनिक अनुष्ठान र साँंस्कृतिक अभ्यासहरु बिना कुनै अवरोध निरन्तर रुपमा सञ्चालन हुने कुरा समेत सुनिश्चित गरेको थियो । 

भारत सरकारले २०७२ सालको गोरखा भूकम्पपछिको पुनर्निर्माणमा नेपाल सरकारको प्रयासलाई सहयोग पु¥याउन १ अर्ब अमेरिकी डलर बराबरको सहायता प्रतिबद्धता गरेको थियो । 


पुनर्निर्माण प्रयासको हिस्सा स्वरुप भारत सरकारले हालसम्म पचास हजार निजी आवास, ७० वटा विद्यालय र एक पुस्तकालय, १२२ वटा स्वास्थ्य संस्था तथा १७ वटा साँस्कृतिक सम्पदा स्थलहरुको पुनर्निर्माण कार्य सम्पन्न गरी नेपाल सरकारलाई हस्तान्तरण गरिसकेको छ । 

यसबाहेक भूकम्प प्रभावित जिल्लाहरुमा अवस्थित थप १४ वटा विद्यालय, ११ वटा स्वास्थ्य संस्था र साँस्कृतिक सम्पदा क्षेत्रका १३ वटा परियोजनाहरु पुनर्निर्माणको विभिन्न चरणमा रहेका छन् जुन भारतीय सहायतामार्फत कार्यान्वयन भइरहेका छन् । 

साँस्कृतिक सम्पदा क्षेत्र अन्तर्गत भारत सरकार नेपालका काठमाडौँ, ललितपुर, भक्तपुर, सिन्धुपाल्चोक, नुवाकोट, रसुवा,धादिङ, गोरखा जिल्लामा रहेका ३० वटा साँस्कृतिक सम्पदा परियोजनाहरुको संरक्षण तथा पुनस्र्थापनामा संलग्न रहँदै आएको छ । 

यी परियोजनाहरुमा ऐतिहासिक स्थलहरु, प्राचीन भवनहरु, मन्दिरहरुको पुनस्र्थापना र गुम्बाहरु तथा धर्मशाला भवनहरुको पुनर्निर्माण समावेश छन् ।

केही उल्लेखनीय परियोजनाहरुमा निम्नानुसार छन्ः
ड्ड काठमाडौँको सेतो मच्छिन्द्रनाथ मन्दिर, 
ड्ड ललितपुरको कुमारी घर र जेष्ठ वर्ण महाविहार, 
ड्ड भक्तपुरको जंगम मठ, र 
ड्ड सिन्धुपाल्चोकको तार्के घ्याङ गुम्बा ।
साँस्कृतिक सम्पदा क्षेत्रमा भारत सरकारको सहयोग भौतिक संरचनाको मर्मतमा मात्र सीमित नभई यसले महत्वपूर्ण सामाजिक–आर्थिक र साँस्कृतिक लाभहरुलाई समेत समेट्छ जसले नेपालको समग्र पुनरुत्थान र दीर्घकालीन हितमा योगदान पु¥याउँछ ।

कार्यक्रममा बोल्दै डा. राकेश पाण्डेले उपभोक्ता समुदाय, सिएलपिआईयु, इन्ट्याक र अन्य सरोकारवालाहरुलाई बधाई दिए ।

जेष्ठ वर्ण महाविहार परियोजनाको सफलताले भारत र नेपालबीच रहेको गहिरो साँस्कृतिक तथा ऐतिहासिक सम्बन्धलाई प्रष्ट पारेको कुरामा उनले जोड दिए । उनले साझा र समृद्ध साँस्कृतिक पहिचानको संरक्षण तथा पुनस्र्थापनामा नेपाल सरकार र नेपाली जनतासँग साझेदारी गर्न भारत सरकार निरन्तर प्रतिबद्ध रहेको कुरामा जोड दिनुभयो ।  

कार्यक्रममा बोल्दै ललितपुर महानगरपासिलकाका मेयर चिरीबाबु महर्जनले सहकार्यको भावनाको बारे र जेष्ठ वर्ण महाविहारको संरक्षणमा भारत सरकारको भूमिकाबारे चर्चा गरे । 

जेष्ठ वर्ण महाविहार उपभोक्ता समितिका प्रतिनिधिहरुले आर्थिक तथा प्राविधिक सहयोग समयमा नै उपलब्ध गराएकोमा भारत सरकारप्रति हार्दिक आभार प्रकट गरे । 

 

सम्बन्धित विषय:

प्रतिक्रिया
सम्बन्धित समाचार