काठमाडौं । नवलपरासी पश्चिमको पाल्हिनन्दन गाउँपालिका-३ स्थित बेलासपुरमा स्थानीय दुई समूहबिच भएको झडपमा २१ जना घाइते भएका छन् । स्थिति नियन्त्रणमा लिने क्रममा प्रहरीले केही राउण्ड हवाई फायर समेत गरेको छ ।
आज भएको झडपमा प्रहरी र स्थानीय गरी करिब २१ जना घाइते भएका जिल्ला प्रहरी कार्यालयले जनाएको छ । हिजो बेलुकी स्थानीय दुई व्यक्तिबीच हातपात भएको थियो । सोही विषयलाई लिएर आज विवाद बढेको हो । विवाद मिलाउन जाँदा केही प्रहरी, सशस्त्र प्रहरी र स्थानीय घाइते भएका छन् । प्रहरीको गाडी जलाइएको छ । जसमा ५ जना स्थानीय , १२ जना जनपथ र ४ जना सशस्त्र प्रहरी घाइते भएका छन् । प्रहरीको बा १ झ ७४४८ नम्बरको गाडी स्थानीयले बलेको टायर फालेर जलाएका छन् ।
करिब तीन महिनाअघि उक्त गाउँका युवायुवतीबीच भागी विवाह भएको थियो । सोही विषयलाई लिएर केटी पक्षले केटाका बुवालाई गत माघमा कुटपिट गरेका थिए । सोही घटनाका कारण उनीहरूबीच द्वन्द्व बढेको हो । त्यतिबेला वडा कार्यालयको पहलमा जिल्ला प्रहरी कार्यालयमा मिलापत्र पनि भएको थियो । तर, सोमबार राति फेरि केटी पक्षका आफन्तले केटाका भाइलाई बाटोमै रोकेर कुटपिट गरेका थिए ।
कुटपिटबाट घाइते भएका युवकको पृथ्वीचन्द्र अस्पताल परासीमा उपचार भइरहेको छ । यो घटनापछि गाउँलेहरू दुई पक्षमा विभाजित भइ कुटपिटमा उत्रिएका थिए । प्रहरीले बल प्रयोग गरेर अहिले स्थिति नियन्त्रणमा लिएको छ । प्रमुख जिल्ला अधिकारी समेतको उपस्थितिमा छलफल भइरहेको प्रहरीले जनाएको छ ।