आइतवार, श्रावण २४ गते २०८३

माओवादीलाई ‘पहिलो गासमै ढुंगा’

मंगलवार , फाल्गुण १३, २०८१

काठमाडौँ । जनतासँग माओवादी तराई-मधेस जागरण अभियान’ सुरु गरेको नेकपा माओवादी केन्द्रलाई पहिलो गासमै ढुंगा लागेको छ ।

जनतालाई फकाउन अभियानमा निस्किएका माओवादीका नेताहरु एक आपसमा भिड्न थालेका हुन् । आइतबार झापाको कचनकवलमा भएको अभियानको उद्घाटन कार्यक्रममा सबै पदाधिकारीलाई पालैपालो बोल्ने समय छुट्ट्याएको थियो ।

आफ्नो बोल्ने पालो आएपछि माओवादीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ मञ्चमा उभिए । औपचारिक सम्बोधनपछि उनी सैद्धान्तिक कुरा गर्न थाले । श्रेष्ठले आफ्ना कुरा भनी सकेकै थिएनन् छेउमा आएर उभिए, माओवादी उपाध्यक्ष अग्नि सापकोटा । सापकोटा छेउमा ठिङ्ग उभिइरहेपछि श्रेष्ठले निको मानेनन् । उनले असहज महसुस गरे ।

बोली रहेका श्रेष्ठ सापकोटातिर फर्किए, सापकोटा चुपचाप उभिइरहे । अनि श्रेष्ठले माइकबाटै भने, ‘रोक्न खोजेको हो ?’ यतिन्जेलसम्म श्रेष्ठको छेउमा कार्यक्रम सञ्चालक पनि आइपुगे । एकातिर सापकोटा अर्कोतिर कार्यक्रम सञ्चालक उभिएपछि श्रेष्ठले मञ्चमा बसेका प्रचण्डतिर पुलुक्क हेर्दै सोधे, ‘समयको चाप छ ?’ अनि श्रेष्ठले कुरा बुझे । र, सैद्धान्तिक विषयवस्तुको भाषण अपूरै छाडे ।

‘समयको चाप छ । म केही कुरा भन्न चाहान्थेँ, सायद । सञ्चालकलाई कार्यक्रमको चाप भयोहोला । म बिदा हुन्छु लालसलाम,’ श्रेष्ठले भाषण टुंग्याए । त्यसपछि श्रेष्ठले भाषण अधुरै छाडेर आक्रोशि हुदैँ हिडे । मञ्चमा देखिएको यो दृश्यले कार्यक्रम स्थलमा उपस्थित कार्यकर्ताहरूलाई पनि एक छिन अन्योलमा पर्यो ।

सामाजिक सञ्जालमा नारायणकाजी श्रेष्ठ आक्रोशित बनेको भिडियो भाइरल भइरहेको छ । एक आपसमा भिड्ने माओवादीका नेताहरुले जनताका मुद्धा कसरी उठान गर्लान भनेर धेरैले टिकाटिप्पणी गरिरहेका छन् । गत असार २८ गते बालुवाटारबाट बाइपास भएपछि प्रचण्ड जनमत बढाउन आजकाल देश दौडाहामा छन्।

उनका भाषणहरूमा आजकाल एउटा कुरा प्रायः दोहोरिन्छ- अब हामी कसैसँग गठबन्धन गर्दैनौं, आफ्नै बलमा चुनाव लडेर बहुमत ल्याउँछौं। पछिल्ला दिनहरूमा उनले अर्को कुरा पनि थप्न थालेका छन्- आगामी चुनावमा कांग्रेस-एमाले गठबन्धन गरेर आउँछन् तर हामी डराउँदैनौं । २०६४ सालमा नेकपा माओवादीले प्रत्यक्ष चुनावतर्फ २४० सिटमध्ये १२० सिट जितेको थियो। तर २०७० सालमा भएको दोस्रो संविधान सभा निर्वाचनमा पुग्दा यो दल २५ सिटमा खुम्चियो।

२०७४ र २०७९ सालमा माओवादीले एमाले र कांग्रेससँग गठबन्धन गरेर प्रत्यक्षमा ३२ र १८ सिट जित्यो। खासमा उसले आफ्नै तागतमा त्यति सिट जितेको थिएन। कांग्रेससँग गठबन्धन नगरेको भए माओवादी १० सिटमा झर्ने गत निर्वाचनको चुनावी नतिजाले देखाउँछ । त्यस्तै ०८४ मा पनि एक्लै चुनाव लडे माओवादी ५ सिटमा खुम्चिने आँकलन भइरहेको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार