काठमाडौं । महाशिवरात्रिका अवसरमा काठमाडौंको पशुपतिनाथ मन्दिरमा भक्तजनको भीड लागेको छ । महाशिवरात्रिको अवसरमा पशुपतिनाथ मन्दिरका चारै ढोका आज बिहान दुई बजेदेखि नै खुला गरिएको थियो ।
पशुपति क्षेत्रमा दुई बजेदेखि नै बढेको भिड अहिले झन् बढ्दै गएको छ । दर्शनार्थीहरुलाई पशुपति क्षेत्रको बाहिरी भागबाट चार र भित्री भागमा आठवटा लाइनको व्यवस्था गरिएको छ । व्यवस्थित रूपमा भक्तजनहरुले लाममा बसेर दर्शन गर्न सक्ने व्यवस्था गरिएको पशुपति क्षेत्र कोषले जनाएको छ । महाशिवरात्रिका भक्तजनका लागि नेपाली सेनाले पुष्पवृष्टि पनि गरेको छ । नेपाली सेना र अन्य विभिन्न संस्थाहरुले पशुपति क्षेत्रमा निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेका छन् । हंसमण्डपमा विभिन्न संघसंस्थाले भोजन, पानीलगायत सेवा गरिरहेका छन् ।
यस वर्षको महाशिवरात्रिमा मन्दिर परिसर साजसजावटमा विशेष ध्यान दिइएको छ । पशुपति क्षेत्र वरपर फूल र बत्तीले झिलीमिली बनाइएको छ । भक्तजनहरु त्यहाँ पुगेर फोटो खिच्ने गरिरहेका छन् । सजावटका लागि फूलहरु भारतबाट समेत आयात गरिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । महाशिवरात्रिका दिन धेरै भीड हुने भएकाले कति भक्तजन भने लाइन नबसी पशुपति क्षेत्र पुगेर मूल मन्दिरको गजुर मात्र दर्शन गरेर फर्कने गरेका छन् । गजुर दर्शन गर्दा पनि पशुपतिनाथ मन्दिरमै गएर दर्शन गरेको बराबर फल मिल्ने विश्वास रहेको छ ।
मित्रपार्क तथा गौरीघाट भएर उमाकुण्ड-दक्षिणामूर्ति हुँदै रूद्रगाडेश्वर उत्तरढोका, जयवागेश्वरी–इँटापाखा भएर भुवनेश्वरीस्थित फलामको सानो ढोका हुँदै पश्चिम ढोका, बत्तीसपुतली-गौशाला तथा ‘एयरपोर्ट’-तिलगङ्गा भएर पिङ्गलास्थान-सुमार्गी भवन हुँदै चार शिवालय-पञ्चदेवल दक्षिण ढोकाबाट एक-एक लाम गरी बाहिरी रूपमा दर्शन गर्ने व्यवस्था मिलाइएको छ । नित्य दर्शनार्थीका लागि बिहान ७ बजेअगावै भुवनेश्वरीस्थित फलामको सानो ढोकाबाट प्रवेशको व्यवस्था मिलाइएको थियो ।
त्यस दर्शनमार्गबाट मन्दिर प्राङ्गण प्रवेश गरिन्छ, उक्त मार्ग हुँदै मन्दिर प्राङ्गणबाट बाहिरिने व्यवस्था मिलाइएको छ । आज पशुपतिनाथसँगै उपत्यकाका गोकर्णेश्वर, डोलेश्वर, कुमभेश्वर, नागेश्वरलगायत शिव मन्दिरमा पनि भक्तजनहरुको भीड लागेको छ ।