काठमाडौँ । काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र शाह फेरि आक्रोशित बनेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रमको खेती गरेको भन्दै बालेन आक्रोशित बनेका हुन् ।
बालेन आक्रोशित हुनुको भित्री रहस्य भने बेग्लै छ । मेयरमा निर्वाचित भएदेखि आफूलाई सहयोग गर्दै आएकी उपमेयर सुनिता डंगोल आफ्नो विरुद्धमा उभिएपछि बालेन आक्रोशित बनेका हुन् । विषय हो प्रमुख प्रशासकीय अधिकृतको ।
सरोज गुरागाईंले काठमाडौं टावरको १२ तलाको नक्सा पास प्रक्रिया अघि बढाउनुपर्नेमा त्यसलाई मिचेर १९ तलको नक्सा स्वीकृति दिएको भन्दै मेयर बालेनले गत पुस ५ गते छानबिनमा ताने ।
उनको ठाउँमा अरु कोही पठाइदिन भन्दै पुस २४ गते नै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पत्र पठाए । तर, अहिलेसम्म काठमाडौं महानगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत पठाइएको छैन । मन्त्रालयले आफ्नो पत्रलाई बेवास्ता गरेपछि बालेनले सामाजिक सञ्जालमा प्रधानमन्त्री ओलीविरुद्ध कडा स्टाटस लेखिरहेका छन् ।
बालेनले ओलीविरुद्ध दिनहुँ स्टाटस लेख्न थालेपछि त्यसको प्रतिवादमा उपमेयर सुनिता डंगोल उत्रिएकी छन् । डंगोलले बालेन आफू काम नगर्ने तर, दोष अरुको टाउकोमा थुपार्ने व्यक्ति भएको भन्दै चर्को आलोचना गरिकी छन् । उपमेयर पनि आफ्नो विरुद्धमा उभिएपछि बालेनले फेरि सोमबार फेसबुकमार्फत ओलीमाथि कडा प्रहार गरेका छन् ।
ओली नेतृत्वको वर्तमान सरकारले भ्रमको खेती गरिरहेको टिप्पणी गरेका छन् । मेयर बालेनले भ्रमको खेतीमा पीएचडीको उपाधि दिन मिल्ने हो भने वर्तमान सरकार योग्य रहेको उनको टिप्पणी छ ।
सरकार र प्रधानमन्त्री ओलीको दल नेकपा (एमाले) ले भ्यू–टावरको नक्सा पासको स्वीकृति मेयरले दिएको, कार्यकारी टिक्दैन भनेर फैलाउन खोलेको, काठमाडौंमा कार्यकारी जना मान्दैनन् भन्ने लज्जास्पद, लाचार र गैरजिम्मेवार अभिव्यक्ति दिएको, कार्यकारीको छानविनको रिपोर्ट लुकाइयो भन्ने भ्रम फैलाइएको लगायतका गतिविधि भएको भन्दै बालेनले आक्रोश व्यक्त गरेका छन् ।
उनले प्रधानमन्त्री ओलीलाई आफूहरु दुश्मन नभएर विकासको साझेदार रहेको बताएका छन् । बालेनले भनेका छन्, ‘ प्रधानमन्त्री केपी ओलीज्यू, हामी तपाईका दुश्मन होइनौँ, विकासका साझेदार हौँ । हामीले गरे जति विकासका सबै काम पनि तपाईकै कार्यकालमा भएका हुन् भनिदिउँला । तर त्यसो भन्दा पत्याउने बनाउन आग्रह, पुर्वाग्रहबाट मुक्त भएर विकासमा साझेदारी गरि त्यो दाबी गर्न सक्ने ल्याकत बनाउने जिम्मा तपाईकै हो । अनि जति भ्रम फैलाए पनि, हामी तपाईको भ्रष्ट कार्यकर्तासँग झुक्दैनौँ । महानगरलाई जतिसुकै नाकाबन्दी लगाउनुहोस्, नियतमा फरक पर्दैन । अहिलेका लागि देशमा आवश्यक सबै भन्दा ठुलो कुरा सुशासन हो । भ्रष्टहरूविरूद्धको लडाइँ हो ।सुशासनका लागि जोसँग जुध्नु परे तयार छु, तर सम्झौता गर्दिन । सुशासन कायम गरेरै छोड्छु ।’
प्रधानमन्त्री ओलीमाथि प्रश्न गर्न सक्ने ल्याकत भएको जनप्रतिनिधि यदि कोही छ भने त्यो बालेन शाह मात्रै हो । बालेन बाहेक अरु कसैले ओलीको विरुद्धमा मुख खोल्न सक्दैँनन् । यता प्रधानमन्त्री ओली पनि आफ्ना विरोधीलाई ठेगान लगाएरै छाड्छन् ।
ओलीले एमालेभित्रका आफ्ना विरोधिलाई साइट लगाइसेका छन् भने, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल र रास्वपा सभापति रवि लामिछाने लगायतका विपक्षी दलका नेतालाई पनि ओलीले ठेगान लगाइसकेका छन् । तर, बालेनलाई ठेगान लगाउन ओलीले कयौँ प्रयास गरे पनि असफल भएका छन् ।