बुधवार, आश्विन १४ गते २०८३

ब्लड क्यान्सर छोरालाई बचाउन रामप्रसादले घर बेच्दा पनि पुगेन, सामाजिक सञ्जालमा सहयोगको अपिल

शुक्रवार , फाल्गुण २३, २०८१

काठमाडौँ । सुर्खेतका ब्लड क्यान्सरका बिरामी रोशन पोख्रेलको उपचार काठमाडौँको निजामती कर्मचारी अस्पतालमा भइरहेको छ । 

वीरेन्द्रनगर नगरपालिका–११, काठकुवा टोलका रोशन अस्पतालको हेमाटोलोजी वार्डअन्तर्गत बेड नम्बर २३९ मा उपचारत छन् । रोशनको साथमा उनका बुवा  रामप्रसाद पोख्रेल छन् । 

छोरालाई ब्लड क्यान्सर होला भन्ने उनले कल्पना पनि गरेका थिएनन् । सामान्य बिरामी होला भनेर उनले अघिल्लो महिना वीरेन्द्रनगरस्थित प्रदेश अस्पताल लिएर गएका थिए । भन्छन्, ‘त्यहाँबाट डाक्टरले ब्लडमा खराबी छ, काठमाडौँ लैजानुहोस् भनेपछि चिन्ता थपियो ।’ 

केही दिन सरसापट गरेर उनले फागुन ५ गते छोरालाई काठमाडौँ लगे । उनले सुरुमा सोचेका थिए, सामान्य समस्या होला उपचार भैजाला । तर अस्पतालका डाक्टरले सीधै ‘तपाईंको छोरालाई ब्लड क्यान्सर भएको रहेछ, ३०–३५ लाख खर्च लाग्छ’ भनिदिए । यताउता सरसापट गरी छोरालाई अस्पतालसम्म पुर्‍याएका रामप्रसादको होस उड्यो ।

‘त्यो वेला मेरा खल्तीमा १० रुपैयाँ पनि भएन, डाक्टरसाबले ३० लाखभन्दा बढी खर्च भनेपछि छाँगाबाट खसेजस्तै भएँ,’ निराश हुँदै उनी भन्छन्, ‘कहाँबाट ल्याउनु त्यत्रो ठुलो रकम  कहिल्यै त्यति ठुलो पैसा देखेकै छैन । के गरूँ, कसो गरूँ भयो ।’
छोरा रोशनलाई बचाउन रामप्रसासले भएका सबै सम्पत्ति बिक्रीमा राख्नुपरेको छ । 

सम्पत्तिका नाममा भएको घर उनले बिक्री गरे । भन्छन्, ‘२७ लाखमा बेचेँ, किन्नेले केही रकम दिइसकेको छ, पास गर्न बाँकी छ ।’ उक्त रकमले पनि उपचार गर्न नपुग्ने भएपछि उनले सामाजिक सञ्जालमा गुहार मागेको बताएका छन् । 

उनका अनुसार अहिले दैनिक २० हजारसम्म छोराको उपचारमा खर्च भइरहेको छ । वीरेन्द्रनगर नगरपालिका–११ का वडाध्यक्ष खिमलाल देवकोटाले अस्पताललाई सहुलियतका लागि सिफारिस पत्र लेखिदिएका छन् । अस्पतालबाट बढीमा १ लाखसम्मको सहयोग पाएका उनको त्यो पैसा पनि सकिएको छ । 

अस्पतालले पनि उपचार गर्न लामो समय लाग्ने बताएको छ । यद्यपि रोशनलाई अझै कति महिना अस्पताल राख्नुपर्ने हो यकिन भने छैन । तर पनि उनी छोरा बचाउन आशावादी छन् । रोशन राष्ट्रिय चन्द्रगंगा मावि गाग्रेतालमा कक्षा १२ मा अध्ययनरत छन् ।

रामप्रसादले सामाजिक सञ्जालमा सहयोगको अपिल गरेका छन् । सहयोगी मनहरूले रामप्रसाद पोख्रेलको नाममा ग्लोबल आईएमई बैंकको खाता नम्बर ३१५०७०१०००८१४४, ईसेवा नम्बर ९८६३५०५९१९ र मोबाइल नम्बर ९८१०५४२५८३ मा सहयोग गरिदिन उनले आग्रह गरेका छन् । 

रामप्रसाद मौरीपालन व्यवसायी हुन् । त्यहीँबाट आएको पैसाले उनी घरखर्च चलाउँछन् । एक छोरा, एक छोरी पढाइरहेका छन् । पछिल्लो समय उनको व्यवसाय पनि कमजोर हुन थालेको छ । अन्य कुनै रोजगारी नभएकाले घर खर्च चलाउन उनलाई हम्मेहम्मे छ । 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार