काठमाडौं । सामुदायिक सेवा केन्द्रले होली पर्वमा हुने उछृङ्खल गतिविधि न्यूनीकरणमा महत्वपूर्ण भूमिका खेलेको छ। हरेक वर्ष झैँ यसवर्षको होलीमा पनि उछृङ्खल गतिविधि हुन नदिन सामुदायिक सेवा केन्द्रले टुँडालदेवी मन्दिर परिसरमा शान्तिसुरक्षासम्बन्धी प्रहरी अनुरोध कार्यक्रम गरेको छ।
होली पर्वलाई मध्यनजर गर्दै सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र टुँडालदेवी, प्रहरी वृत्त महाराजगञ्ज र मालीगाउँको संयुक्त आयोजनामा उक्त कार्यक्रम गरिएको हो
सामुदायिक सेवा केन्द्र टुँडालदेवीका अध्यक्ष न्यौपानेले आसन्न होली पर्वलाई मध्यनजर गर्दै कार्यक्रम आयोजना गरिएको जानकारी दिए । समुदाय र प्रहरीको आपसी समन्वयमा शान्तिसुरक्षालाई प्रवद्र्धन गर्न सकिने अध्यक्ष न्यौपानको भनाइ छ । त्यस्तै सामुदायिक सेवा केन्द्र समाजलाई शान्तिपूर्ण समाज निर्माण गर्न सामाजिक भूमिका खेल्ने संस्था भएको बताए ।
सामुदायिक सेवा केन्द्रले टुँडालदेवी मन्दिर परिसरमा गरेको कार्यक्रमको मूख्य उदेश्य के हो ? भन्ने शैली न्युजको प्रश्नमा अध्यक्ष न्यौपानेले भने, ‘यो सामुदायिक सेवा केन्द्र भनेको चाहीँ समाजलाई शान्तिपूर्ण समाज निर्माण गर्न सामाजिक भूमिका खेल्ने संस्था हो । त्यसैले कार्यक्रम गर्नुको उदेश्य भनेको अहिले होली पर्व आइरहेको छ । होलीमा उछृङ्खल गतिविधि पनि हुनसक्छन् । जसमा होली नखेल्नेहरुलाई पनि रंग लगाएर यातना दिने, लोला हान्ने, अभद्र व्यवहार गर्ने, चारीलगायतका घटना हुने गर्छन । त्यसकारण यस्ता गतिविधिलाई न्यूनीकरण गर्नको लागि समाजलाई जागरुप बनाउन हामीले कार्यक्रम गरेको हौँ । हामीले सुरक्षित समाज निर्माण गर्नको लागि विभिन्न किसीमका कार्यक्रम गरिरहेका हुन्छौँ । त्यस अन्तर्गतको यो कार्यक्रम पनि एक हो ।’
त्यस्तै अध्यक्ष न्यौपानेले काठमाडौँ उपत्यकामा पहिलाको जसरी होली पर्वमा हुने उछृङ्खल गतिविधिमा कमि आएको समेत दाबी गरे । ‘काठमाडौँ उपत्यकामा होली पर्वमा पहिला जे जति घटना घट्ने गर्दथे। तर, पछिल्लो समय ती घटनामा न्यूनीकरण हुदैँ आएको छ । र, सामुदायिक सेवा केन्द्रले पनि यहि चाहेको हो । जसअनुसार हामीले कार्यक्रम गरिरहेका हुन्छौँ ।’, उनले भने ।
त्यस्तै न्यौपानेले शान्ति सुरक्षासम्बन्धी प्रहरी अनुरोध कार्यक्रमले प्रहरीलाई पनि समाजमा प्रस्तुत हुन सहज बनाउनुका साथै दायीत्व पनि बढाएको बताएका छन् । आगामी दिनमा पनि यस्ता कार्यक्रमले प्राथमिकता पाउने उनको भनाइ छ ।
‘म सामुदायिक सेवामा लागेको २५ वर्ष भयो । भोलीको दिनमा पनि यस्ता कार्यक्रमले प्राथमिकता पाउने नै छन् । समाजले राम्रो गर्ने मान्छेलाई सम्मान गर्नुपर्छ र नराम्रो काम गर्नेहरुलाई तिरस्कार पाउँछन् भन्ने मेसेज दिन जरुरी पनि छ ।’, अध्यक्ष न्यौपानेले भने । शुक्रबार सामुदायिक सेवा केन्द्र टुँडालदेवीका अध्यक्ष रामप्रसाद न्यौपानेको सभापतित्वमा आयोजित कार्यक्रममा जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) विश्व अधिकारी प्रमुख अतिथि थिए ।
त्यस्तै कार्यक्रममा पूर्वसचिव एवं पूर्वमहालेखापरीक्षक मधुसुदन ढकाल, नेपाली सेनाका पूर्वउपरथी शिवराम प्रधान, पूर्वप्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) द्वय कमलसिंह बम र निरज शाही, पूर्वप्रहरी नायब महानिरीक्षक (डीआईजी) हेमन्त मल्ल, जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक (एसपी) कुलदीप चन्द विशेष अतिथि थिए ।
कार्यक्रममा बोल्दै एसएसपी विश्व अधिकारीले समाजमा शान्तिसुरक्षा, अपराध नियन्त्रण तथा रोकथामका लागि सूचना आदानप्रदान महत्त्वपूर्ण रहेको बताएका थिए । अपराध न्यूनीकरणका लागि जिल्ला प्रहरी परिसर काठमाडौं प्रतिबद्ध रहेको पनि उनको भनाइ थियो । उनले नागरिक समाज नै सूचना स्रोत भएकाले सत्यतथ्य सूचना प्रहरीलाई उपलब्ध गराइदिन अनुरोध गरे ।
‘अपराध नियन्त्रणमा सूचना आदानप्रदान महत्त्वपूर्ण छ, नागरिक समाज नै सूचना स्रोत भएकाले सत्यतथ्य सूचना प्रहरीलाई उपलब्ध गराइदिन हाम्रो अनुरोध पनि छ,’ उनले भनेका थिए । साथै उनले समुदाय प्रहरी साझेदारी कार्यक्रमको उद्देश्य अपराध नियन्त्रण गर्नु रहेको उल्लेख गर्दै प्रहरी र समुदायको सहभागितामा मात्र समाजलाई सुरक्षित बनाउन सकिने धारणा राखेका थिए ।
त्यस्तै पूर्वएआईजी कमलसिंह बमले सामुदायिक सेवाले अपराध नियन्त्रणमा प्रहरीलाई सहयोग र्पुयाउँदै आएको बताउँदै जिल्ला प्रहरी परिसर काठमाडौंले कर्मठ र क्षमतावान् नेतृत्व पाएको उल्लेख गरेका थिए । परिसर प्रमुख एसएसपी विश्व अधिकारीको कार्यकालमा अपराध नियन्त्रणमा अझ उपलब्धि हासिल हुने विश्वास उनले व्यक्त गरेका थिए ।
कार्यक्रममा सामुदायिक सेवा केन्द्र टुँडालदेवीका अध्यक्ष रामप्रसाद न्यौपानेले जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी विश्व अधिकारी, जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी कुलदीप चन्द र प्रहरी वृत्त महाराजगञ्जका डीएसपी निरञ्जन थापालाई दोसल्ला ओढाई स्वागत तथा सम्मान टक्राएका थिए ।
कार्यक्रममा विभिन्न संघसंस्था, स्थानीय क्लब, टोल सुधार समिति, सरकारी तथा निजी विद्यालयका प्रधानाध्यापक तथा प्रिन्सिपल, स्थानीय व्यक्तिहरू गरी करिब १६० जनाको उपस्थिति रहेको थियो।