मंगलवार, आश्विन १३ गते २०८३

सम्झनाको उत्कृष्ट ब्याटिङमा नेपालले हरायो हङकङलाई

शुक्रवार , फाल्गुण ३०, २०८१

काठमाडौं । महिला टी-२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खला अन्तर्गत आज भएको खेलमा नेपालले हङकङलाई ६ विकेटले हराएको छ ।

हङकङले प्रस्तुत गरेको १ सय ५ रनको लक्ष्य नेपालले १९.३ ओभरमा ४ विकेटको क्षतिमा पछ्याएर प्रतियोगितामा नेपालले यो दोस्रो जित हात पारेको छ । ओपनर सम्झना खड्काले ४३ बलमा ४७ रन बनाएकी थिइन् । आक्रामक ब्याटिङ गरेकी उनले ३ चौका प्रहार गरिन् । त्यस्तै कप्तान इन्दु बर्माले ३२ बल खेल्दा एक चौकासहित १८ रन बनाइन् भने रोमा थापा र बिन्दु रावल समान ४ रन जोडेर आउट भए । पूजा महतोले अविजित २० रन बनाउँदा र एलिसा यादव ५ रनमा नटआउट रहिन् ।

हङकङका इमा लाई र काउर महेकदीपले एक एक विकेट लिए । त्यसअघि टस जितेर ब्याटिङ रोजेको हङकङले ८ विकेटको क्षतिमा १०४ रन बनाएको थियो । हङकङकका लागि ओपनर सान्जिन शाहजादले अर्धसतक बनाएकी थिइन् । उनले ४७ बलमा ५ चौका र एक छक्का प्रहार गर्दै ५४ रन बनाइन् । चाल का इङले २९ बलमा १६ र यासमिन दासवनीले १५ बलमा १४ रनको योगदान गरिन्। उनले एक चौकाको मद्दतमा उक्त स्कोर बनाएकी हुन् । हङकङका अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

नेपालका लागि राजमती ऐरीले ३ विकेट हात पारेकी छिन् । उनले ४ ओभरमा १७ रन खर्चिएर ३ विकेट लिएकी हुन् । इन्दु बर्माले दुई तथा पूजा महतो र ईश्वरी बिष्टले एक-एक विकेट लिएका छन् । यसअघि हङकङले नेपालसँगको पहिलो खेल २ रनले जितेको थियो । १०१ रनको लक्ष्य पछ्याएको नेपाल ९८ रनमा समेटिएको थियो । फाइनलमा पुग्न असफल नेपालले ६ खेलमा २ खेल जितेको छ । यसअघि युगान्डालाई १ विकेटले पराजित गरेको थियो ।

हङकङको भने फाइनल पुग्ने सम्भावना बाँकी रहेको छ । युगान्डा, नामिविया र हङकङमध्ये दुई टोली फाइनलमा पुग्नेछन् । आजै नामिविया र युगान्डा भिड्नेछन् । यो खेलको विजयी टोली फाइनलमा पुग्नेछ भने बाँकी दुई टोलीमध्ये एउटा नेट रनरेटका आधारमा फाइनलमा पुग्नेछ ।

त्यसअघि समान ६ अंक भए पनि नामिबिया शीर्षस्थानमा र युगान्डा दोस्रो तथा हङकङ तेस्रो स्थानमा रहेका छन् ।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार