काठमाडौं । नेपाल पुलिस क्लबले प्रधानमन्त्री (पीएम) कप पुरुष एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा लगातार पाँचौ जित हात पारेको छ ।
आज सिद्धार्थनगर क्रिकेट मैदानमा सुदूरपश्चिम प्रदेशलाई ६१ रनले पराजित गर्दै पुलिसले आफ्नो अपराजित यात्रा कायम गरेको छ । पुलिस क्लबले दिएको १६१ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिम २८.३ ओभरमा ९९ रन जोड्न सफल भयो । सुदूरपश्चिमका लागि शेर मल्लले सर्वाधिक ३२ र मिलन बोहोराले २३ रन जोडेका छन् । पुलिस क्लबका लागि ललितनारायण राजवंशीले ७ ओभरमा १६ रन खर्चिएर ६ विकेट लिएका छन् ।
यसअघि ललितले एपिएफविरुद्ध ६ र मधेसविरुद्ध ५ विकेट लिएका थिए । सागर ढकालले २ र करण केसीले १ विकेट लिएका थिए । टस जितेर पहिले ब्याटिङ गरेको पुलिस क्लबले ४७ ओभरमा १६० रनमा अलआउट भएको थियो । पुलिसका लागि कप्तान दीपेन्द्रसिंह ऐरीले ४२ र आरिफ शेखले ४० रन जोडेका छन् ।
सुदूरपश्चिमका लागि सौर्य श्रेष्ठले ४, भोजराज भट्टले ३, शेर मल्लले २ तथा हेमन्त धामीले १ विकेट लिएका छन् । पाँचौ जितसँगै पुलिस अङ्क तालिकाको शीर्ष स्थानमा यथावत् रहेको छ । सुदूरपश्चिम ५ मध्ये ४ खेलमा पराजित हुँदै अङ्क तालिकाको पुछारमा रहेको छ ।