काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सरकारमा सहभागि हुनको लागि जुक्ती लगाइरहेका छन् ।
राजावादी सक्रिय भएको मौका छोपी प्रचण्डले केपी शर्मा ओली नेतृत्वको सरकार ढालेर सरकारमा सहभागि हुन खोजेका हुन् । ओली सरकारका कारण राजावादी सल्बलाएको निष्कर्ष निकाल्दै अब माओवादीको समर्थनमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने प्रचण्डको योजना हो ।
जुन सरकारलाई प्रचण्डले, ‘राष्ट्रिय सरकार’ भनेका छन् । यसका लागि प्रचण्डले देउवालाई फकाउने प्रयास गरिरहेका छन् ।पूर्वराजा ज्ञानेन्द्र शाहले चलखेल गरेको भन्दै त्यसलाई रोक्न राष्ट्रिय सरकार बनाउनुपर्छ भन्दै प्रचण्डले देउवासँग फोनवार्ता समेत गरेका छन् ।
‘मधेश अभियान चलिरहेकै बेला हाम्रो अध्यक्ष प्रचण्ड र देउवाबीच टेलिफोनमा संवाद भइरहेको थियो,’ सांसद समेत रहेका माओवादीका एक नेताले भने ‘अभियान स्थगित गरेर काठमाडौँ आएपछि त्यो संवाद बाक्लिएको मैले बुझेको छु।’
गत असार २८ गते बालुवाटारबाट खुमलटार पुगेपछि प्रचण्ड जनताको प्यारो बन्न खोजिरहेका छन् । उनले मधेस अभियान चलाएका थिए । प्रचण्डले हरेक जसो भाषणमा अब माओवादी ०८४ सम्म सरकारमा नजाने ठोकुवा गर्थे ।
तर, राजतन्त्रको पक्षमा माहोल बन्न थालेपछि प्रचण्डसहितका माओवादीका नेताहरु एकाएक काठमाडौँ पुगेका छन् । र, प्रचण्डको मनशाय भनेको, ‘गणतन्त्रलाई बलियो बनाउनको लागि सरकारमा सहभागि भएको भनेर फेरि जनतालाई झुक्याउन सकिन्छ भन्ने हो।’
ओलीबाट देउवालाई अलग गर्न प्रचण्डले अनेक प्रयास गरिरहेका छन् । तर, तत्काल देउवा भने प्रचण्डले भनेको मान्ने तयारीमा छैनन् । अर्थात ओलीलाई धोका दिने पक्षमा देउवा छैनन् । देउवा यस्तो नेता हुन्, ‘आफूले दिएको बचन पुरा गर्छन’ फेरि प्रचण्डले आफूलाई पटक पटक धोका दिएको पनि देउवाले बिर्सेका छैनन् ।
तर, देशभर राजतन्त्रको माहोल बढ्दै गएर लोकतन्त्रमाथि खतराको घण्टी बजेपछि भने देउवा राष्ट्रिय सरकारको पक्षमा उभिन सक्ने नाम नखुलाउने सर्तमा कांग्रेसका एक नेताले बताए ।
उनले भने, ‘ अहिले देउवा दाई यताउती गर्ने मनशायमा छैनन् । हामी एमालेलाई धोका पनि दिन चाहन्नौँ । तर, लोकतन्त्रमाथि खतरा हुने सम्भावना बढेपछि भने राष्ट्रिय सरकारको बारेमा सोच्न सकिन्छ ।’