काठमाडौं । सुदूरपश्चिम प्रदेशले प्रधानमन्त्री (पीएम) कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेटमा दोस्रो जित हासिल गरेको छ । आज उसले लुम्बिनी प्रदेशलाई ५ विकेटले पराजित गरेको हो ।
भैरहवास्थित एक्स्ट्रादेक ओभल क्रिकेट मैदानमा जारी खेलमा टस जितेर पहिले ब्याटिङको निर्णय लिएको लुम्बिनी प्रदेशले ११७ रनको लक्ष्य दिएकोमा सुदूरपश्चिम प्रदेशले ३१.१ ओभरमा ५ विकेट गुमाएर पूरा गरेको थियो । सुदूरपश्चिम प्रदेशको जितमा किरण ठगुन्ना ४३ र कप्तान नारायण जोशी २५ रनमा नटआउट रहेका थिए । कप्तान जोशीसँग छैठौं विकेटका लागि किरणले ५६ रनको साझेदारी गर्दै सुदूरपश्चिम प्रदेशको जित सुनिश्चित गरेका थिए । प्रकाश पाण्डेले २२ रन जोडेका छन् ।
लुम्बिनी प्रदेशका लागि रमेश कुर्मीले २ तथा विप्रसन केसी, अजय चौहान र निर्मल गुरुङले समान १ विकेट लिएका थिए । यसअघि एक्स्ट्रा टेक क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको लुम्बिनी प्रदेशले ४४.१ ओभरमा सबै विकेट गुमाएर ११६ रनको सामान्य योगफल तयार पारेको थियो । लुम्बिनी प्रदेशका लागि कप्तान देव खनालले सर्वाधिक ४१ र प्रज्वल थापाले ३० रन बनाएका थिए ।
सुदूरपश्चिम प्रदेशका लागि हेमन्त धामीले ४ तथा सौय श्रेष्ठ, शेर मल्ल र मिलन बोहोराले समान २-२ विकेट लिएका थिए । जितसँगै सुदूरपश्चिम प्रदेशको ६ खेलबाट ४ अंक भएको छ । पराजित लुम्बिनी प्रदेश ६ खेलमा ८ अंकका साथ तेस्रो स्थानमा यथावत रहेको छ ।