काठमाडौं । युइएफए नेशन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा डेनमार्कले पोर्चुगललाई १–० को झिनो अन्तरले पराजित गरेको छ ।
घरेलु टोलीले खेलभरि नै दबाब सिर्जना गर्दै उत्कृष्ट अवसरहरू बनाएको थियो । पहिलो हाफमा डेनमार्कका क्रिस्टियन एरिक्सेनले पेनाल्टीमा गोल गर्न असफल भएका थिए ।
पोर्चुगलका वेइगाले भलि प्रहारमा हात लगाउँदा रेफ्रीले पेनाल्टी दिएका थिए । तर गोलकिपर डिओगो कोस्टाले दायाँतर्फ डाइभ गर्दै उत्कृष्ट बचाउ गरे ।
त्यसपछि एरिक्सेनको अर्को प्रहारलाई उनका क्लब टिममेट डियोगो डालोटले गोललाइनबाट क्लियर गरे । बियरथको प्रहारमा पनि कोस्टाले राम्रो बचाउ गरेका थिए ।
दोस्रो हाफमा डेनमार्कले त्यति धेरै स्पष्ट अवसरहरू बनाउन सकेन, तर ७८औं मिनेटमा अन्ततः गोल निस्किएको थियो । स्कोभ ओल्सेनको पासमा रामुस होयलुन्डले उत्कृष्ट फिनिस गर्दै खेलको एकमात्र गोल गरे ।
१–० ले पछि परेको स्टार खेलाडी क्रिष्टियानो रोनाल्डोको टोली पोर्चुगलले दोस्रो लेगमा कमब्याक गर्ने लक्ष्यसहित मैदान उत्रिनु पर्ने छ ।