काठमाडौँ । शनिबारदेखि शुरु भएको इण्डियन प्रिमियर लिग (आइपिएल) मा आज दुई खेल हुदै छन् ।
आज पहिलो खेल सनराइजर्स हैदरावाद र राजस्थान रोयल्सबीच हैदरावादमा हुदै छ । यो खेल नेपाली समय अनुसार अपराहन्न ३: ४५ बजेदेखि शुरु हुदै छ ।
पाट कमिन्सको नेतृत्वमा रहेको सनराइजर्स आइपिएलमा आक्रामक ब्याटिंगका लागि परिचित रहेको छ । भारतका अभिषेक शर्मा, अस्ट्रेलियाका ट्रेभिस हेडको आक्रामक ब्याटिंग यस आइपिएलको प्रमुख आकर्षण हुने निश्चित छ । त्यस्तै मेगा अक्सनबाट आएका इशान किशन, मोहमद शामी जस्ता भारतीय खेलाडीले सनराइजर्सलाई यस पटक उपाधिको बलियो दाबेदार बनाएको छ । गत सिजनमा उपविजेता भएको सनराइजर्सले पछिल्लो पटक २०१६ मा उपाधि जितेको थियो ।
त्यसैगरी आज दोस्रो खेल आइपिएलका सबैभन्दा ठुला प्रतिद्वन्दी चेन्नई सुपर किंग्स र मुम्बई इण्डियन्सबीच चेन्नईमा हुदैछ । रुतुराज गायकवाडको कप्तानीमा चेन्नईको टिम सशक्त देखिन्छ । महेन्द्र सिंह धोनी अझै आइपिएल खेलिरहेकाले चेन्नईको खेल उनका विश्वभरका फ्यानका लागि विशेष हुने छ । त्यस्तै गत सिजन खराब खेलेको मुम्बईका लागि यो खेलको कप्तानी भने सूर्यकुमार यादवले गर्ने छन् । नियमित कप्तान हार्दिक पाण्डेय निलम्बनमा रहेकाले उनी यो खेलमा खेल्ने छैन ।