काठमाडौँ । संविधान र गणतन्त्र पक्षधर विपक्षी दलहरूको बैठक नेकपा माओवादी केन्द्रको संसदीय दल कार्यालय सिंहदरबारमा जारी छ।
बैठकमा माओवादी केन्द्रबाट अध्यक्ष प्रचण्ड, वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र सचेतक हितराज पाण्डे, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डे, राष्ट्रिय स्वतन्त्र पार्टीबाट कार्यवाहक सभापति डोलप्रसाद अर्याल, उपाध्यक्ष डा. स्वर्णिम वाग्ले र प्रमुख सचेतक सन्तोष परियार, नेपाल समाजवादी पार्टी, नेपालका अध्यक्ष महीन्द्र राय यादव सहभागी छन्।
समाजवादी मोर्चाले यही चैत १५ गते काठमाडौँमा राजतन्त्रको विरोध र गणतन्त्रका पक्षमा प्रदर्शन तथा आमसभा गर्दै छ।समाजवादी मोर्चामा माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा), एकीकृत समाजवादी र नेपाल कम्युनिस्ट पार्टी छन्।
केही समययता राप्रपालगायत राजावादी दल तथा समूहले राजसंस्था पुनस्थापनाका पक्षमा प्रदर्शन चर्काउन थालेपछि गणतन्त्र पक्षधर राजनीतिक दलहरू पनि एकजुट भएका छन्।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पनि राजतन्त्र पुनःस्थापनाका पक्षमा आवाज उठाउन यही चैत २६ गते काठमाडौँमा प्रदर्शन गर्दै छ।