काठमाडौँ । दिल्ली क्यापिटल्सले १८औँ संस्करणको इण्डियन प्रिमियर लिग (आइपिएल) मा लगातार दोस्रो जित निकालेको छ । दोस्रो जित दर्ता गर्नेक्रममा दिल्लीले आइतबार सनराइजर्स हैदराबादलाई ७ विकेट गुमायो ।
दिल्लीले पहिलो खेलमा लखनउ सुपर जायन्ट्सलाई एक विकेटले हराएको थियो । दोस्रो खेलमा हैदराबादले दिएको १ सय ६४ रनको लक्ष्य दिल्लीले १६ ओभरमा तीन विकेट गुमाएर पूरा गर्यो । उसका लागि फाफ डुप्लेसिसले अर्धशतकीय पारी खेले । उनले २७ बलमा तीन चौका र तीन छक्कासहित ५० रनको पारी खेलेका हुन् ।
यस्तै, जेक फ्रेजर-म्याकगर्कले ३८ र केएल राहुलले १५ रन जोडे । अविजित रहेका अभिषेक पोरेलले ३४ र ट्रिस्टन स्टब्सले २१ रन जोडे । हैदराबादका लागि जीशान अन्सारीले मात्र तीन विकेट लिन सके ।
त्यसअघि विशाखापट्टनमस्थित राजशेखर रेड्डी एसीए-वीडीसीए क्रिकेट स्टेडियममा टस जितेर ब्याटिङ रोजेको हैदराबाद १८.४ ओभरमा १ सय ६३ रनमा अलआउट भयो ।
उसका लागि अनिकेत वर्माले ४१ बलमा ६ छक्का र ५ चौकासहित सर्वाधिक ७४ रन बनाए । यस्तै, हेनरिक क्लासेनले ३२ र ट्रभिस हेडले २२ न जोडे । बाँकी ब्याटरले भने दोहोरो अंकमा समेत रन बनाउन सकेनन् ।
दिल्लीका लागि मिचेल स्टार्कले सानदार बलिङ गरे । उनले ३.४ ओभरमा ३५ रन दिएर ५ विकेट लिए । यस्तै, कुलदीप यादवले तीन र मोहित शर्माले एक विकेट हात पारे ।