काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने फेरि राजनीतिमा सक्रिय भएका छन् । रास्वपाले सभापति पार्टी नेतृत्वको जिम्मेवारीमा फर्काएसँगै जनताका मुद्धा उठाउन फेरि आफूले आवाज बुलन्द बनाउने रविले घोषणा गरेका हुन् ।
आइतबार बसेको रास्वपा सचिवालयको बैठकले साढे ५ महिनापछि लामिछानेलाई पार्टी नेतृत्वको जिम्मेवारीमा फर्काउने निर्णय गरेको थियो । बैठकको निर्णय अनुसार आजदेखि रवि केन्द्रीय समिति बैठकमा सहभागी भएका छन् ।
सहकारी काण्डमा रवि कात्तिक २ गते पक्राउ परेका थिए । पुस ८ गते बसेको रास्वपाको सचिवालय बैठकले कार्यवाहक सभापतिको जिम्मेवारी उपसभापति डोलप्रसाद अर्याललाई दिने निर्णय गरेको थियो । साढे ५ महिना मौन बसेका रविले आजदेखि मुख खोलेका छन् ।
अदालतबाट फर्कने क्रममा रविले समय आएपछि मुख खोल्ने बताउदैँ आएका थिए । अब भने त्यो समय आइसकेको भन्दै रवि फेरि सक्रिय भएका हुन् । पहिलो पटक आज पार्टी कार्यालय पुगेका रविले दुई चोर मिलेर साधु हुँदैन भन्दै कांग्रेस एमालेमाथि आक्रोश पोखेका छन् ।
‘कति मुद्दा लगाउनुछ लगाऊ। शरिरमा एक थोपा रगत रहुन्जेल लडिरहन्छु। मलाई थाहा छ म राजनीतिमा हुन्थिन भने मलाई यो दुख हुन्थेन। लुट मच्चाइरहेकाहरूलाई खबरदारी गर्न रवि लामिछाने पछि हट्दैन । सरकारले मलाई जिउदो छोडेपछि मेरो जित भएको छ ।’ रविले भने ।
जनताका माग उठाउने नेता भित्र रवि पर्छन । रविको छुट्टै क्रेज पनि छ । संसदमा होस् या संसद बाहिर रवि एमाले कांग्रेसका नेताहरुको मुटु काप्नेगरि भाषण गर्ने गर्छन । रविको भाषण गर्ने शैली जनताहरुमाझ लोकप्रिय छ । उनी फेरि राजनीतिमा सक्रिय भएपछि सामाजिक सञ्जालमा सर्वसाधारणले उत्साहित हुदैँ विभिन्न टिकाटिप्णी गरेका छन् । रविले पहिलो दिनमा नै कांग्रेस एमालेविरुद्ध बोलेपछि पुराना दलका नेताहरु तनावमा रहेको पनि रास्वपाका कार्यकर्ताले प्रतिक्रिया दिएका छन् ।
पछिल्लो समय जनताहरु कांग्रेस एमाले नेतृत्वको सरकारप्रति असन्तुष्ट छन् । यसैबीच रवि लामिछानेले अब जनताका मुद्धा कसरी उठाउछन् भन्नेबारे आमचासो छ ।