काठमाडौं । प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईं अन्ततः काठमाडौं महानगरपालिका कार्यालयमा प्रवेश गरेका छन् ।
उनलाई रोक्न महानगरपालिका कार्यालय परिसरमा बिहानैदेखि नगर प्रहरी तैनाथ गरिए पनि प्रमुख प्रशाकीय अधिकृत हाजिर हुन पुगेका हुन् । अवरोध पन्छाउँदै वडाध्यक्ष र कर्मचारीहरूले उनलाई कार्यकक्ष पुर्याएका हुन् । तर, त्यहाँ पनि ढोका लगाएपछि उनीहरूले अहिले ढोका फोड्ने प्रयास गरिरहेका छन् । गुरागाईंलाई कार्यकक्षमा प्रवेश गर्न नदिएपछि कर्मचारीहरूले ढोका फोड्ने प्रयास गरेका हुन् । अहिले अवस्था तनावग्रस्त रहेको छ ।
गत पुस ७ गतेदेखि गुरागाईंलाई बिदामा राखिएको थियो । त्यसपछि नियुक्त भएका निमित्त प्रमुख प्रशासकीय अधिकृत गोविन्दप्रसाद शर्माले पनि राजीनामा दिएपछि अहिले महानगर प्रमुख प्रशासकीय अधिकृतविहीन छ । यस्तो अवस्थामा आफूहरूले तलबसमेत खान नपाएको भन्दै कर्मचारीहरू आक्रोशित बनेका हुन् ।
उनीहरूले कुनै पनि हालतमा प्रमुख प्रशासकीय अधिकृत गुरागाईंलाई हाजिर गराउने बताइरहेका छन् ।