काठमाडौं । नेपाली कांग्रेसका सांसद डा. शेखर कोइरालाले देशको नेतृत्व गर्नेहरू बिचौलियाको खेलमा सहभागी बनेको बताउका छन् । कोइरालाले आज काठमाडौंमा सुमन कर्माचार्यको ‘कात्रोमा खल्ती’ लोकार्पण समारोहलाई सम्बोधन गर्दै नेतृत्व तह नै बिचौलियासँग मिल्दा देश विकासमा समस्या आइरहेको बताएका छन् ।
उनले भने, ‘आज हेर्नुस् केही दिन पहिला नेपालको सबैभन्दा ठूलो र पुरानो त्रिभूवन युनिभर्सिटीमा भिसीले रिजाइन गर्नुभयो । किनभने मलाई धेरै प्रेसर पर्यो मैले सकिनँ भनेर भन्नुभयो । हामी सक्छौँ तर पटक पटक म एउटै शब्द प्रयोग गर्दैछु- बिचौलियाहरू, । हाम्रा नेतृत्वहरू बिचौलियाहरूको खेलमा इन्भल्ब हुनुहुन्छ । त्यो कारणले यो समस्या आइरहेको छ । नेपाललाई विकास गर्ने हो भने, नेपाललाई समृद्ध बनाउने हो भने तीन, चार वटा कुरामा हामीले ध्यान दिनुपर्छ । त्यसो गर्नसके नेपाललाई समृद्ध बनाउन सकिन्छ ।’ उनले संविधान संशोधनलाई मुद्दा बनाएर कांग्रेस-एमालेसहितको गठबन्धन बनेको भन्दै ९ महिनासम्म काम नभएकोमा असन्तुष्ट व्यक्त गरेका छन् ।
कोइरालाले भने, ‘संविधानमा सुधार गर्ने भनेका छौँ । संविधान पुनर्लेखन त भनेका छैनौँ । त्यसलाई हेरिदिन केके परिवर्तन गर्न सकिन्छ त्यतातिर जाने भनिएको थियो । आज ९ महिना बितिसक्यो हामीले त्यतातिर ध्यान दिन सकेका छैनौँ, । के-केमा संशोधन गर्ने हो त्यो हामी हेरौँ, गरौँ गर्नैपर्छ । किनभने यो त प्रधानमन्त्रीजीले रोष्ट्रममा उभिएर बोलेको कुरा हो । यो मैले त्यसै भनेको कुरा होइन । नेपाली कांग्रेस र एमालेको सहमतिको डकुमेण्ट हो यो । दोस्रो कुरा आर्थिक अवस्था एकदम नाजुक छ देशको । त्यसलाई सुधार गर्दै अघि लैजाने । सुधार गर्ने प्रक्रियाहरू अघि बढे भनेर अध्यादेशमार्फत ऐन पनि आयो । हुन्छ कि भन्ने आशा छ । कत्तिको हुन्छ हेरौँ । कि त्यहाँ पनि फेरि बिचौलियाहरूकै खेल छ कि ?’
उनले अहिले राष्ट्र बैंकको गभर्नर बनाउन बिचौलियाहरू सक्रिय भएको सुनिरहेको बताएका छन् । उनले भने, ‘अहिले हामी सबैले सुन्दैछौँ एउटा कुरा- हुँदा हुँदा राष्ट्र बैंकको गभर्नर बनाउन पनि बिचौलियाहरू चलखेल गर्दैछन् । त्यो हो भने म त वार्न गर्दछु सरकारलाई, । यस्तो भए सरकारको लागि त दुर्भाग्य हुन्छ नै । नेपालको लागि नै दुर्भाग्य हुन्छ । यो अत्यन्त गम्भीर विषय हो । देशको अर्थतन्त्रसँग यसरी खेल्ने, मजाक गर्ने अधिकार उहाँहरू कसैलाई पनि छैन । त्यसपछि उहाँहरूले के भन्नुभयो भने हामी सुशासन दिन्छौँ, भ्रष्टाचार न्यूनीकरण गर्छौं भन्नुभयो ।’
कोइरालाले भने, ‘सुशासन कस्तो अवस्थामा छ, मैले भनिरहनु पर्दैन । औचित्य हामीले सावित गर्न सकिरहेका छैनौँ । उपायहरू छ त्यसको लागि राजनीतिक इच्छाशक्ति नेताहरूमा, नेतृत्वमा हुनुपर्छ । राजनीतिक इच्छाशक्ति भयो भने गर्न सकिन्छ, हामी सक्छौँ । के नेपाललाई बनाउन सकिँदैन ? नेपाललाई बनाउन सकिन्छ । अहिले युवाहरू पलायन भइरहेका छन् ।’