काठमाडौँ । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले आज प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेका छन् । आज मेयर हर्कले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबार पुगेर धरानबासीहरुले पानी पाउनुपर्छ भन्दै प्रधानमन्त्री ओलीलाई गुनासो गरेका हुन् ।
साम्पाङसँग प्रधानमन्त्री ओलीले धरानबासीलाई खानेपानी उपललब्ध गराउने प्रक्रिया अघि बढेको जानकारी गराएका छन् । ‘धरानबासीले खानेपानी पिउन पाउनुपर्छ । यो प्रक्रिया आजैबाट अघि बढ्यो । यसका लागि संघीय सरकारले बजेटको प्रबन्धलगायत अन्य विषयमा आवश्यक सहजीकरण गर्नेछ । यो सन्देश धरानबासीलाई सुनाइदिनुहोला’, प्रधानमन्त्रीले भने ।
प्रधानमन्त्रीले धरानमा खानेपानीको समस्या समाधान गर्नको लागि सरकारले बजेटको प्रबन्धलगायत अन्य विषयमा आवश्यक सहजीकरण गर्ने सन्देश धरानबासीदलाई सुनाइदिनुहोला भनेपछि मेयर साम्पाङले मुस्कुराउदैँ गफ मात्रै होकी ? साच्चै हो भन्दै प्रश्न गरेका थिए । जवाफमा प्रधानमन्त्री ओली आफू जनताका समस्या समाधान गर्नकै लागि काम गरिरहेको बताएका थिए ।
त्यस्तै खानेपानी आयोजनाका लागि विस्तृत परियोजना प्रतिवेदन यसअघि संघीय सरकारले तयार गरिसकेको पनि उनले जानकारी गराएका छन् । यसअघि रित्तो गाग्री लिएर सिंहदरबार छिर्न खोजेका उनले खानेपानीमन्त्रीलाई भेटेर फर्किएका थिए ।