काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले वर्तमान सरकार नसुध्रिए प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार घेरेर भात पानी बन्द गरिदिने चेतावनी दिएका छन् ।
मंगलबार पार्टीले आयोजना गरेको खबरदारी सभालाई सम्बोधन गर्ने क्रममा उनले आफूहरू गोली नचलाउने तर बालुवाटार घेर्न भने सक्ने बताएका छन् । लिङ्देनले भने, ‘मैल फेरि पनि भन्छु, नसुध्रने हो भने हामी पनि गोली चलाउँछौं त भन्दिन । बालुवाटार घेरेर भात पानी बन्द गरिदिन सक्छौं, यो कुरा याद राख ।’ उनले अहिलेको जनता मुर्ख भएर नबस्ने भन्दै सूचनालाई कसैले पनि मुठ्ठिमा राख्न नसक्ने जनाएका छन् ।
उनले भने, ‘अब जनता मुर्ख भएर बसिराख्दैन । सूचना प्रविधिको धेरै विकास भइसकेको छ । अब सूचनालाई कसैले आफ्नो मुठ्ठिमा राख्न सक्दैन, ।’ उनले आफूहरू सल्लाह गरेरै विद्रोहमा जाने पनि बताएका छन् । लिङ्देनले भने, ‘विद्रोह नै गरेर जाऔं भन्नुहुन्छ भने हामी सल्लाह गरेरै जान्छौं, झुक्याएर जाँदैनौं, ।’