अहिले पनि (बिहीबार बिहान ७ बजे) कोसी, मधेस र बागमती प्रदेशका केही स्थान, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थान र कर्णाली र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा पानी परिरहेको मौसमविद् डेभिड ढकालले जानकारी दिए।
यस क्रममा कोसी र मधेस प्रदेशका एक/दुई स्थानमा भारी वर्षासमेत भएको अर्का मौसमविद् रोजन लामिछानेले जानकारी दिए। मौसम महाशाखाका अनुसार आज पनि वर्षा जारी रहनेछ। जसअनुसार दिउँसो कोसी प्रदेश, मधेस प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशलगायत देशको पहाडी भूभागका केही स्थान तथा देशका बाँकी भूभागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ।
कोसी प्रदेश र मधेस प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ। देशको उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा/हिमपातको सम्भावना छ।
महाशाखाका अनुसार कोसी प्रदेश, मधेस प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थान तथा देशका बाँकी भूभागका एक/दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ। देशको उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना छ।
मौसमविद्का अनुसार २४ घण्टामा १० मिलिमिटरभन्दा कम पानी पर्नु हल्का वर्षा, १० देखि ५० मिलिमिटरसम्म पानी पर्नु मध्यम वर्षा, ५० देखि माथि १०० मिलिमिटरसम्म पानी पर्नु भारी वर्षा, १०० देखि माथि २०० मिलिमिटरसम्म पानी पर्नु धेरै भारी वर्षा र २०० मिलिमिटरभन्दा माथि पानी पर्नु अति भारी वर्षा हो।