काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफू नेतृत्वको सरकारलाई बाध्य बनाउनका लागि कुनै आन्दोलन गरिरहनु नपर्ने बताएका छन् ।
नेपाल उद्योग वाणिज्य, महासंघको ५५ औं वार्षिक साधारण सभा एवं उद्योग वाणिजय दिवस-२०८१ लाई उद्घाटनपछि सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् । प्रधानमन्त्री ओलीले भने, ‘सरकारलाई बाध्य बनाउनका लागि कुनै आन्दोलन गरिरहनुपर्ने आवश्यकता छैन, अहिलेको सरकार स्थिरता, सुशासनका लागि बनेको हो । मुख्य एजेन्डा नै यही हो । स्थिरता र स्थायीत्व भनेको जकडिएको स्थिरता र स्थायीत्व होइन । गतिशील स्थिरता र स्थायीत्व हो ।’
उनले छिनछिमा सरकार बदलिने, आफूभन्दा अघिल्लो सरकारले गरेका राम्रा कामहरूबारे उच्चारण नै गर्न नहुने लगायतका काम अब नहुने बताएका छन् । उनले भने, ‘सरकार र सरकारका नीतिहरू छिनछिनमा अनप्रेडिक्टेबल ढंगले बदलिने, एउटा सरकारको ठाउँमा अर्को तुरुन्तै बदलिने, अघिल्लो सरकारले लयाएको राम्रो कुरा पनि उसले उच्चारण समेत गर्न हुँदैन भनेजस्तो गर्ने हुँदैन, ।’
उनले सरकारले भ्रष्टाचार नयुनीकरण र अन्त्य गर्नमा सरकार लागिपरेको जानकारी गराएका छन् । उनले भने, ‘देशमा भ्रष्टाचारको न्युनीकरण र अन्त्य, सुशासन, जनतालाई सेवा कसरी प्रवाह गर्न सकिन्छ भन्नेमा छौं, हाम्रो देशको विकासको जिम्मा हामीले नै लिने हो । अरुले गर्दैन ।’