सोमवार, आश्विन १९ गते २०८३

नवनिर्वाचित अध्यक्ष विजयप्रसाद मिश्र भन्छन्– व्यक्तिगत महत्त्वाकांक्षाभन्दा माथि उठेर काम गर्छु

बिहिवार , चैत्र २७, २०८१

काठमाडौं । नेपाल बार एसोसिएसनका नवनिर्वाचित अध्यक्ष विजयप्रसाद मिश्रले व्यक्तिगत महत्त्वाकांक्षाभन्दा माथि उठेर काम गर्ने प्रतिबद्धता जनाएका छन् ।

बिहीबार निर्वाचित समितिले अन्तिम मतपरिणाम सार्वजनिक गरेपछि उनले सञ्चारकर्मीसँगको कुराकानीमा व्यक्तिगत महत्त्वाकांक्षा माथि उठेर स्वतन्त्र न्यायपालिका र कानुन व्यवसायको गरिमाका लागि काम गर्ने बताएका छन् । उनले भने, ‘आफ्नो मात्र होइन, प्रतिस्पर्धीको घोषणापत्र पनि कार्यान्वयन गर्ने मेरो प्रयास रहने छ । सबैलाई समेटेर अघि बढ्छु । व्यक्तिगत महत्त्वाकांक्षाभन्दा माथि उठेर स्वतन्त्र न्यायपालिका र कानुन व्यवसायको गरिमाका लागि काम गर्छु ।’ वरिष्ठ अधिवक्ता मिश्र ५ हजार ५२ मतसहित बारको २७ औँ केन्द्रीय कार्यसमितिको अध्यक्ष पदमा निर्वाचित भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी वरिष्ठ अधिवक्ता रमनकुमार श्रेष्ठले २ हजार ६२१ मत प्राप्त गरेका छन् ।

मिश्रले २ हजार ४३१ मतान्तरले श्रेष्ठलाई पराजित गरका हुन् । चैत्र २३ गते भएको नेपाल बार चुनावमा मिश्रको प्यानलबाट २५ मा २५ जना नै निर्वाचित भएका छन् । नवनिर्वाचित अध्यक्ष मिश्रले जितसँगै जिम्मेवारी थपिएको र जिम्मेवारीसँगै गम्भीर बनेर अघि बढ्ने प्रतिक्रिया दिएका छन् । उनले स्वतन्त्र र स्वच्छ न्यायपालिकाको स्थापना, विकृतिविहीन न्यायपालिका, राम्रा न्यायकर्मी, भ्रष्टाचारमुक्त न्यायपालिका, संविधानको संशोधन आफ्नो प्राथमिकतामा रहेको बताएका छन् ।

अध्यक्ष मिश्रले कानुन व्यवसायीहरूलाई तालिमको व्यवस्था, लयर्स एकेडेमीको स्थापना, समुचित कानुनी शिक्षाको व्यवस्था, नेपाल बार एसोसिएसनमा महिला र युवा कानुन व्यवसायीको मूलप्रवाहीकरणका साथै नेपाल बारको समग्र कार्यप्रणाली परिवर्तन गर्ने कुरा आफ्नो प्राथमिकतामा रहेको बताएका छन् ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार