काठमाडौँ । चेन्नई सुपर किंग्सलाई कोलकाता नाइट राइडर्सविरुद्धको खेल अघि झट्का लागेको छ। कप्तान रुतुराज गायकवाड घाइते भएपछि उनको ठाउँमा महेन्द्र सिंह धोनीलाई कप्तानी दिइएको छ । उनी आगामी खेलहरूमा टोलीको नेतृत्व गर्ने देखिनेछन्।
चेन्नईले शुक्रबार कोलकातासँग खेल्नेछ। कप्तान ऋतुराज गायकवाड कुहिनाको चोटका कारण यस सिजनका सबै खेलबाट बाहिर भएका छन्।प्रशिक्षक स्टीफन फ्लेमिङले धोनीले कप्तानी गर्ने पुष्टि गरे ।
चेन्नईले आईपीएल २०२४ सुरु हुनुभन्दा ठीक अगाडि ऋतुराजलाई कप्तान बनाएको थियो। धोनी र गायकवाड बाहेक, सुरेश रैना र रवीन्द्र जडेजाले टोलीको कप्तानी सम्हालेका छन्। धोनीको अनुपस्थितिमा रैनाले जिम्मेवारी सम्हालिरहेका थिए भने २०२२ को आईपीएलमा प्रतियोगिता सुरु हुनुभन्दा ठीक अगाडि जडेजालाई पूर्ण रूपमा नयाँ कप्तान बनाइएको थियो। यद्यपि, त्यो सिजनमा टोलीको प्रदर्शन धेरै खराब थियो र आधा सिजन पछि, धोनीले कप्तानी फिर्ता लिए र २०२३ मा उनले आफ्नो कप्तानीमा पाँचौं पटक टोलीलाई उपाधि दिलाए।