काठमाडौँ । कानुन, न्याय तथा मानव अधिकार समितिले तीनकुने घटनाबारे छानबिन समिति गठन गर्न सरकालाई निर्देशन दिएको छ ।
शुक्रबार सिंहदरबारमा बसेको समिति बैठकले सरकारलाई छानबिन समिति बनाउन निर्देशन दिने निर्णय गरेको हो। सभापति बिमला सुवेदीले उक्त घटनामा मानव अधिकारको गम्भीर उल्लंघन भएको उनले बताउँदै घटनामा शान्ति सुरक्षा कायम गर्ने सरकारको दायित्वमा कमजोरी देखिएको बताइन्।
उनले आगामी दिनमा राज्यले यस्ता घटना दोहोरिन नदिन समितिले सचेत गराएको बताइन्। यस्तै सुवेदीले उक्त घटनामा मृतकका परिवारलाई क्षतिपूर्ति तथा घाइतेको उपचारको व्यवस्थालाई थप प्रभाकारी बनाउन सरकारलाई निर्देशन दिएको बताइन्।
उनले भनिन्, ‘उक्त घटनामा आमनागरिकको जिउ धनको सुरक्षा गर्ने र राज्यले दरिलो सुरक्षा रणनीतिको निर्माण र नतिजामुलक कार्यान्वयनमार्फत देशमा शान्ति सुरक्षा तथा अमनचयनप्रति प्रत्याभुत गर्ने समबन्धमा राज्यपक्षको कमीकमजोरीहरु देखिएकाले आगामी दिनमा शान्ति सुरक्षासँग सम्बन्धित नीति तथा कानुनी सुधार गर्न सुरक्षा निकायसँग सम्बन्धित निकायलाई साधन स्रोत सम्पन्न र प्रविधि मैत्री बनाउँदै संगठनात्मक र मानव स्रोतगत व्यवस्थापन परिणाममुखी बनाउन र अब उप्रान्त यस्ता घटनाहरु दोहोरिन नदिने गरी सुरक्षा चुनौतीको विश्लेषणका आधारमा अपेक्षित सुरक्षा व्यवस्थाको प्रवन्ध गर्न निर्देश गर्ने प्रश्ताव गर्छु ।’