आइतवार, श्रावण २४ गते २०८३

भारतमा दुर्गा प्रसाईं लुकेको मन्दिर, पक्राउ गर्न यसरी सफल भयो प्रहरी

शुक्रवार , चैत्र २८, २०८१

काठमाडौँ । चैत १५ गते काठमाडौँको तीनकुनेमा राजावादीको आन्दोलन हिंसात्मक बन्दा दुई जनाको ज्यान गयो भने अर्बौँको भौतिक क्षति भयो । घटनामा संलग्नहरू धमाधम पक्राउ परे ।

राप्रपाका नेता रविन्द्र मिश्रदेखि धवल शमशेर सम्म पक्राउ परेका छन् । तर, उक्त घटनाका मुख्य नाइके विवादीत मेडिकल व्यवसायी दुर्गा प्रसाईं भने तीनकुनेबाट प्रहरीको आँखा छल्दै भारत भाग्न सफल भए । उनी भारत भागेको १० दिनमा भने हातमा हतकडी लाग्यो । चैत १५ गते भागेका प्रसाईँले मन्दिरमा बसेर भिडिओ सार्वजनिक गरे ।

भिडिओमा देखिएको मन्दिरका आधारमा प्रहरी टोली खोजबिन गर्न भारत पुग्यो । उनलाई भारतको आसाम राज्यस्थित धनसिरीपुर ठाडालाइन क्षेत्रबाट बिहीबार पक्राउ गरिएको हो। प्रहरीले भने आज मात्र झापाको भद्रपुर क्षेत्रबाट पक्राउ गरिएको जनाएको छ। यसअघि पनि भारतमा पक्राउ गरेका व्यक्तिलाई भारतीय सुरक्षा निकायले नेपाललाई नबुझाउँदासम्म नेपाल प्रहरीले पक्राउ परेको स्विकार्ने गरेको थिएन।

भारतीय प्रहरीको समन्वयमा प्रसाईंलाई चैत २८ गते नियन्त्रणमा लिइएको थियो। प्रसाईंलाई आसामस्थित अभिचन्द्र पाठकको घरबाट पक्राउ गरिएको हो। आसाम पुगेको नेपाल प्रहरीको विशेष ब्युरोको टोलीका अनुसार उनी पाठकको घरमा लुकेर बसेका थिए। पाठक नेपालीभाषी हुन्।

तीनकुने घटनाको तीन दिनपछि चैत १८ मा प्रसाईंले आफू काठमाडौंमै रहेको भन्दै फेसबुक मार्फत भिडिओ सार्वजनिक गरेका थिए। त्यो भिडियो सन्देशको पृष्ठभूमिमा मन्दिर समेत देखिन्छ। त्यही भिडिओ प्रहरीका लागि ठूलो क्लु बन्न पुग्यो। ब्युरोको टोलीले प्राविधिक तथा अनुसन्धानका लागि खटाएको प्रहरीबाट प्राप्त सूचनाले प्रहरी नजिक-नजिक पुगिरहेको थियो।

त्यो मन्दिर आसामस्थित प्रसाईं लुकेर बसेको पाठक घरको रहेको प्रहरी स्रोतले जनाएको छ । भारतको आन्तरिक सुरक्षा र प्रतिजासूसी संस्था इन्टेलिजेन्स ब्यूरो (आईबी)को सहयोगमा प्रसाईं लुकेको ठाउँ पहिचान गरिएको थियो। त्यसपछि आसामको स्थानीय प्रहरीले उनलाई नियन्त्रणमा लिएको थियो।

उनलाई ल्याउन नेपालबाट प्रहरीको विशेष ब्युरोको टोली आसाम पुगेको थियो। अन्तत काठमाडौँ उपत्यकाबाट भागेको १० दिनमा प्रसाईँको हातमा हतकडी लगाउन प्रहरी सफल भयो । पक्राउ गरि भारतबाट झापा र, झापाको भद्रपुर विमानस्थलबाट विमानमार्फत उनलाई काठमाडौँ ल्याइएको हो।

भारतमा पक्राउ परेका उनलाई आजै बिहान काँकडभिट्टा नाकाबाट नेपाल ल्याएर हतकडीसहित भद्रपुरको विमानस्थल पुर्याइएको थियो।

बुद्ध एअरको जहाजमार्फत शुक्रबार काठमाडौं ल्याइएका उनलाई लिन विमानस्थलमा नेपाल प्रहरीका तीनवटा गाडी भित्रै गएका थिए । त्यसमध्ये डीएसपीको गाडीले सञ्चारकर्मीको आँखा छल्दै वैकल्पिक बाटोबाट उनलाई बाहिर निकालेको थियो । जिल्ला अदालत काठमाडौँले पसाईँलाई १२ दिन हिरासतमा राख्न अनुमति दिएको छ ।

प्रसाईंलाई पूर्व राजा ज्ञानेन्द्र शाहले राजसंस्था फर्काउने अभियानको कमान्डर तोकेका थिए। चैत १५ गते प्रसाईंको कमान्डमै भएको आन्दोलन हिंसात्मक बन्दा प्रहरीको गोली लागेर सबिन महर्जन र प्रदर्शनकारीले भवनमा लगाएको आगोमा जलेर पत्रकार सुरेश रजकको ज्यान गएको थियो।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार