मंगलवार, आश्विन १३ गते २०८३

यू–१९ विश्वकप एसिया छनोटमा हङकङविरुद्ध नेपालको सहज जित

बुधवार , बैशाख ३, २०८२

काठमाडौं । नेपालले आईसीसी यू-१९ विश्वकप एसिया छनोटमा लगातार तेस्रो जित निकालेको छ । आज भएको खेलमा नेपालले हङकङलाई सहजै ९ विकेटले हराएको छ ।

तल्लो मुलपानी क्रिकेट मैदानमा हङकङले दिएको ११६ रनको सामान्य लक्ष्य नेपालले १२.३ ओभरमा १ विकेट मात्र गुमाएर पूरा गरेको हो । ओपनर साहिल पटेल ४२ तथा कप्तान नरेन भट्ट ३९ रनमा नटआउट रहेका थिए । त्यसअघि निरज यादवले २३ रन बनाएका हुन् ।

त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको हङकङले ४६.२ ओभरमा अलआउट हुँदै ११५ रन बनाएको थियो । शिव माथुरले सर्वाधिक ६३ रन बनाएका थिए । आर्या पन्जवानीले १३ तथा वीर माथुरले १२ रन बनाएका थिए । सुरुवाती विकेट १० रनको योगफलमै गुमाएको हङकङका लागि माथुर र पन्जवानीले डिफेन्सिभ शटहरू खेल्दै अर्धशतकीय साझेदारी बनाएका थिए ।

नेपालका युवराज खत्रीले १० ओभरमा १८ रन मात्र दिएर ४ विकेट लिएका थिए । बिपिन प्रसाद शर्माले ६.२ ओभरमा २४ रन दिएर ३ विकेट लिएका हुन् । सन्तोष यादवले २ तथा अशोक धामीले १ विकेट लिएका थिए ।

नेपालले यसअघि यूएई र ओमानलाई हराएको थियो । अब नेपालले समूह चरणको अन्तिम खेलमा शनिबार अफगानिस्तानसँग खेल्ने छ ।

नेपालजस्तै अपराजित अफगानिस्तानले आज माथिल्लो मुलपानीमा यूएईसँग खेल्दै छ र पहिले ब्याटिङ गरेर यूएईलाई ३५९ रनको लक्ष्य दिएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार