काठमाडौं । राप्ती नदीमा १५ वटा घडियाल गोही छाडिएको छ । चितवन राष्ट्रिय निकुञ्जले घडियाल गोही प्रजनन केन्द्रमा हुर्काइएका १५ वटा गोहीलाई राप्ती नदीमा छाडेको हो ।
छोडिएका मध्ये दुई भाले र १३ वटा पोथी रहेका छन् । साउनयता योसहित पटकपटक गरी एक सय १८ वटा गोही राप्ती नदीमा छाडिएको छ । छाडिएकाहरूमध्ये तीन भाले र अन्य पोथी रहेका निकुञ्ज कार्यालयले जनाएको छ । कार्यालय स्रोतका अनुसार वन्यजन्तु सप्ताहको अवसर पारेर थप १५ वटा गोही राप्तीमा छोडिएको हो ।
यस वर्ष छाडिएका गोही सन् २०२० मा कोरलिएका बच्चा हुन् । गत आर्थिक वर्षमा एक सय पाँचवटा गोही नदीमा छाडिएको थियो । नदी किनारबाट गोहीका अन्डा सङ्कलन गरेर प्रजनन केन्द्रमा कोरल्ने गरिन्छ । त्यहाँ हुर्किएका बच्चालाई नदीमा छाड्ने गरिन्छ । हालसम्म राप्ती, नारायणीसहित देशका विभिन्न नदीमा दुई हजार ७५ वटा गोही छाडिएको छ ।
गत वर्ष गरिएको सर्वेक्षणमा राप्तीमा एक सय ५२ र नारायणीमा एक सय १३ वटा गोही भेटिएका थिए । हाल प्रजनन केन्द्रमा छ सय ८२ वटा गोही रहेका छन् । विगतमा पाकिस्तान, बङ्गलादेश, भुटान, म्यानमारलगायत देशमा समेत पाइने गरेको घडियाल अहिले नेपाल र भारतमा मात्रै पाइने गर्दछन् ।
नदीमा बाढी आउँदा गोही बगेर सीमापारि पुग्ने समस्या छ । हरेक वर्ष नदीमा गोही छाड्ने गरेको भए पनि अपेक्षाकृत रूपमा सङ्ख्या भने बढेको छैन ।