काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको सह-महामन्त्री पदबाट सुमना श्रेष्ठले राजीनामा दिने भएकी छन्।
आज दिउँसो बस्ने केन्द्रीय समिति बैठकमा श्रेष्ठले राजीनामा दिने जानकारी आफूले पाएको रास्वपाका कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए।
‘सांसद् र पार्टी पदाधिकारीको भूमिका एकसाथ निर्वाह गर्न समस्या भएपछि उहाँले राजीनामा दिन लाग्नु भएको हो,’ झाले भने, ‘यसमा अन्यथा केही छैन। एक व्यक्ति एक पदको अवधारणाअनुसार उहाँले राजीनामा दिने तयारी गर्नु भएको हो। राम्रो अभ्यास, राम्रो संस्कारको लागि आफूले यसो गर्न लागेकोसमेत उहाँले हामीलाई बताउनु भएको छ।’
बिहीबार दिउँसो २ बजे बस्ने रास्वपा केन्द्रीय समिति बैठकमा श्रेष्ठले राजीनामा दिने झाले बताए। २०८० पुसमा महोत्तरीको जलेश्वरमा बसेको रास्वपाको केन्द्रीय समिति बैठकले सबै सांसदलाई केन्द्रीय सदस्य बनाउने निर्णय गरेको थियो। त्यही बैठकबाट श्रेष्ठ पार्टीको सहमहामन्त्री भएकी थिइन्।
सभापति रवि लामिछाने पछिल्लो पटक पार्टीमा फर्किएपछि भएको केन्द्रीय समिति बैठकमा उनले पार्टीमा पुनर्संरचना आवश्यक छ भन्ने प्रस्तावसमेत गरेकी थिइन्।