सोमवार, आश्विन १९ गते २०८३

विश्वप्रकाश शर्मा भन्छन्– प्रधानमन्त्रीलाई गाह्रो भएको हो भने कांग्रेस बाहिरिन्छ, एमालेको मात्रै टिम बनाउनू

बिहिवार , बैशाख ४, २०८२

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कांग्रेसका कारण सरकारमा काम गर्न अप्ठेरो भएको भए खुलेर भन्न आग्रह गरेका छन् ।

कांग्रेस सत्तापक्षकै बेन्चमा बसेर पनि सरकारका कमी कमजोरीप्रति प्रश्न गर्ने ठाउँमा हुनुपर्ने महामन्त्री शर्माको भनाइ रहेको छ । उनले आफू संलग्न सरकारको सफलताको लागि बोल्नु आफूहरूको कर्तव्य रहेको बताएका छन् । महामन्त्री शर्माले भने, ‘कांग्रेस बाहिरिँदा विपक्षीको बेन्चमा होइन, सत्ता पक्षको बेन्चमा बस्ने, सरकारलाई साथ दिने, कमजोरीप्रति प्रश्न गर्ने, भोलि कांग्रेसको प्रधानमन्त्री बन्ने बेलामा कांग्रेसको टिम हुन्छ, एमालेले बाहिर बसेर सरकारलाई सहयोग गर्छ, कमी कमजोरीप्रति प्रश्न गर्छ ।’

महामन्त्री शर्माले एमालेको प्रधानमन्त्री हुँदा पूर्ण रुपमा एमालेकै र कांग्रेसको प्रधानमन्त्री हुँदा पूर्ण रुपमा कांग्रेसकै टिम हुनेगरी सोच्न पनि आग्रह गरेका छन् । उनले भने, ‘जो प्रधानमन्त्री उसैको टिम । यसमा सहमत होऔं । कांग्रेसका मन्त्रीहरूका कारण काम गर्न गाह्रो भयो भने प्रधानमन्त्रीले भन्नुपर्‍यो, एमालेको प्रधानमन्त्री हुँदा खेरी एमालेको टिम दिने टोटल । बरु, अरू साना दललाई गाँसौँला, काँग्रेस बाहिरिने ।’

सरकारको सफलताका लागि नराम्रा कामहरूबारे ध्यान दिनुपर्ने बताउँदै उनले चुकेको ठाउँमा आफूहरूले झकझक्याउने बताएका छन् । महामन्त्री शर्माले भने, ‘सबैभन्दा उत्तम विकल्प, सरकारको गति बढ्नुपर्छ । कुनैपनि यो वा त्यो, इन्तु-परन्तु, इफ-बट भनिराखेर सरकारलाई ढिलाइ भएको कुरामा कसैलाई दोष लगाएर हुँदैन, ।’

उनले कांग्रेस सभापति शेरबहादुर देउवासमेत कामको गति बढाउनुपर्ने पक्षमा रहेको बताएका छन् । उनले शिक्षकका माग सम्बोधन गर्न, गभर्नर नियुक्ति, एआईजी नियुक्तिलगायतका कामहरूमा अब ढिलाइ गर्न नहुने समेत बताएका छन् । 

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार