मंगलवार, आश्विन १३ गते २०८३

‘केपी ओली कप’ राष्ट्रिय क्रिकेटमा गण्डकी च्याम्पियन

शुक्रवार , बैशाख ५, २०८२

काठमाडौं । पोखरामा सञ्चालन भएको दोस्रो संस्करणको ‘केपी ओली कप’ टी-२० राष्ट्रिय खुला पुरुष क्रिकेट प्रतियोगिताको उपाधि गण्डकी हिरोजले जितेको छ।

पोखरा रङ्गशालाको क्रिकेट मैदानमा आज सम्पन्न फाइनल खेलमा सिइसी काठमाडौँलाई पाँच विकेटले हराउँदै घरेलु टोली गण्डकी च्याम्पियन बन्यो। प्रतियोगिताको पहिलोपटक उपाधि जितेको गण्डकीले रु १० लाखसहित ट्रफी पुरस्कार पाउँदा उपविजेता काठमाडौँले रु पाँच लाख र ट्रफी पुरस्कार पायो।

फाइनल खेलमा जितका लागि एक सय ८३ रनको विजयी लक्ष्य पाएको गण्डकीले १७ ओभरको तेस्रो बलमा पाँच विकेट गुमाउँदै लक्ष्य पूरा गर्न सफल भयो। गण्डकीका वसन्त कार्की २७ र नारायण जोशी १३ रनमा ‘नटआउट’ रहँदै टोलीलाई जित दिलाए। वसन्तले १७ बलमा तीन छक्का प्रहार गरे भने नारायणले १० बलमा एक छक्का प्रहार गरे। किरण ठगुना ५२ रनको उत्कृष्ट अर्धशतकीय पारी खेल्दै बाहिरिए।

काठमाडौँका लागि दीपेन्द्र रावतले तीन विकेट लिँदा मनोज यादव र सूर्य तामाङले समान एक–एक विकेट लिए। त्यसअघि टस जितेर ब्याटिङ थालेको काठमाडौँले १९ ओभरको चौथो बलमा अलआउट हुँदै एक सय ८२ रन बनाएको थियो। अर्जुन घर्ती ६८ रनको उत्कृष्ट पारी खेल्दै ‘क्याचआउट’ हुन पुगे।

पृथु बाँस्कोटाले अर्धशतकीय पारी खेल्दै आउट भए। शिवम तिवारीले २३ रन जोड्नुबाहेक अन्य ब्याटरले दोहोरो अङ्क जोड्न सकेनन्। गण्डकीका लागि अमृत गुरुङ र कृष्ण पौडेलले समान तीन–तीन विकेट लिएभने विपीन खत्री र मिलन बोहोराले दुई–दुई विकेट हात पारे। प्रतियोगितामा काठमाडौँका दीपेन्द्र रावत ‘प्लेयर अफ दी टुर्नामेन्ट’ घोषित हुँदै रु ३० हजार पुरस्कार पाए। 

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार