काठमाडौं । ताप्लेजुङ सदरमुकाम फुङ्लिङबाट पाथीभरा मन्दिर दर्शनका लागि गइरहेको बोलेरो गाडीमा करेन्ट प्रवाह हुँदा भएको आगलागीमा परेर निधन भएका चार जना यात्रु तथा दुईजना घाइतेको पहिचान खुलेको छ ।
जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका मे १ च ३०११ नम्बरको बोलेरो गाडीमा फुङ्लिङ नगरपालिका-१० सेवारोचोकमा एक्कासि आगलागी भएको हो ।
जिल्ला प्रहरी कार्यालय स्रोतका अनुसार मृत्यु हुनेमा ललितपुर महानगरपालिका-१० की १६ वर्षीया आध्या आचार्य, भद्रपुर नगरपालिका-१५ का ७० वर्षीय विनोद पौडेल, पौडेलकै श्रीमती ६९ वर्षीय सरिता पौडेल र सवारी चालक ताप्लेजुङ फुङलिङ नगरपालिका-१० का ४२ वर्षीय दुर्गा भट्टराई रहेका छन् ।
त्यस्तै घाइते हुनेमा ललितपुर-१० का ४५ वर्षीया सविना आचार्य, उनका १० वर्षीय छोरा भविमय आचार्य रहेका छन् । उनीहरुको जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।
आज बिहान करिब ५ बजे बिजुलीको पोलबाट चुँडिएको तार सडकमा झरेको र उक्त तारमा बोलेरो गाडी अल्झिँदा अचानक आगो लागेको प्रारम्भिक अनुसन्धानमा देखिएको प्रहरीले जनाएको छ ।
स्रोतका अनुसार आगलागीको जानकारी प्राप्त हुनासाथ प्रहरी निरीक्षक रवि रावलको कमाण्डमा १५ जनाको टोली तत्काल घटनास्थलमा पुगेको थियो ।