सोमवार, आश्विन १९ गते २०८३

शिक्षकहरूलाई प्रधानमन्त्रीको आग्रह– तुरुन्त वार्ता गरेर सहमति गर्नुस्, अनि काममा फर्किनुस्

सोमवार , बैशाख ८, २०८२

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षकहरूलाई वार्तामार्फत सहमति गरेर काममा फर्किन आग्रह गरेका छन् ।सोमबार काठमाडौंमा आयोजित एमालेनिकट प्राध्यापक सङ्गठनको सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।

उनले भने, ‘आन्दोलन गरेर उहाँहरूलाई पनि कुनै लाभ छैन । विद्यार्थीलाई घाटा छ । मेरो आग्रह छ, सरकार उहाँहरूको मागप्रति नकारात्मक हुने अवस्था छैन । तुरुन्त वार्तामा आएर सहमति गर्नुस् र फर्किनुस् । औपचारिक वार्ता नै गर्नुहुन्न भने त त्यो अनौठो नै भयो । आन्दोलन गर्ने तर, वार्ता नगर्ने भन्ने हुन्न । वार्तामा आउनुस्, फर्किएर काममा जानुस्, ।’ उनले शिक्षकहरू सडकमा आउनुपर्ने अवस्था नै नभएको बताएका छन् ।

प्रधानमन्त्री ओलीले भने, ‘उता ५२ प्रतिशत बालबालिकाहरू फेल भएका छन् । ५२ प्रतिशत फेल गराउने भनेर कतिपय शिक्षक साथीहरूले चित्त दुखाएका छन् भन्ने सुनेँ । तर, फेल भएका छन् नि त । उपयुक्त समयमा पेपर काटेर रिजल्ट आउट गर्नुपर्छ । पूरक परीक्षा दिने सिस्टम सुरु भएको छ । त्यसको तयारी गर्नुपर्‍यो । अब तपाईंहरू फर्किनुस्, ।’ उनले अहिले अराजकतावादीहरू सलबलाएको भन्दै यस्ता आन्दोलनहरूले त्यसमा सहयोग पुग्ने बताएका छन् । त्यसैले उनले शिक्षकहरूलाई अविलम्ब वार्तामार्फत समाधान खोजेर विद्यालय फर्किन आग्रह गरेका छन् ।

उनले भने, ‘अहिले प्रतिगामी शक्तिहरू सलबलाएका बेलामा अराजकता फैलाएको बेला किन आन्दोलन किन गर्ने ? प्रतिगामीहरू उपद्रव मच्चाइरहेका छन्, यो प्रतिगामी उपद्रव हो । जसको सामना गरिनेछ  । संविधानसम्मत ढङ्गले सामना गरिनेछ । आवश्यकताअनुसार यसलाई सामना गरिनेछ । त्यसमा बल पुग्नेगरी अहिलेको परिस्थितिमा किन आन्दोलन गर्ने ? संविधान विपरीतका कुराहरूलाई सरकारले नियन्त्रण गर्छ । कानूनविपरीतका कुराहरूलाई सरकारले नियन्त्रण गर्छ। कानूनसम्मतका कुराहरूलाई सरकार सम्मान गर्छ, ।’

उनले शिक्षकहरूलाई विद्यालय फर्किएर नयाँ भर्ना लिएर अगाडि बढ्न सुझावसमेत दिएका छन् । प्रधानमन्त्री ओलीले भने, उहाँहरू किन सडकमा आइरहनुपर्‍यो ? अब आइसक्नुभयो, कुराकानी अविलम्ब गर्नुस्, कुरा टुङ्ग्याएर फर्किनुस्, बालबालिकाका नयाँ भर्ना लिनुस् र अगाडि बढ्नुस् । मेरोचाहिँ आग्रह छ । मैले धेरै कुरा भनिनँ, ।’

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार