काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षकहरुप्रति व्यंग्यात्मक टिप्पणी गर्दै ऐन बोक्न यत्रो मान्छे सडकमा चाहिन्छ भनेर प्रश्न गरेका छन् ।
सोमबार कीर्तिपुरमा नेपाल प्रगतिशील प्राध्यापक संगठनको ११ औँ राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले ऐन ल्याएको जस लिनलाई सडकमा आउन आवश्यक नरहेको समेत बताएका छन् ।
उनले भने, ‘अब ऐन लिएर जाने भन्नु भएको छ, यत्रोविघ्न मान्छे सडकमा किन ? ऐन बोक्न यत्रो मान्छे चाहिन्छ ?, ऐन त संसद्मा छलफल हुँदैछ । उपसमितिमा छ । त्यसपछि मुल हाउसमा आउँछ । संसद्बाट पारित हुन्छ । ऐन त आउँछ नै । यी सबै ऐन जति ल्याएका छन्, सडकमा मान्छे आएर आएका छन् ऐन ।’
प्रधानमन्त्री ओलीले थपे, ‘हामीले ऐन ल्यायौं भन्ने पार्नका लागि यत्रो दुःख कि गर्नुपर्यो ? तपाईंहरुले नै ल्याएको हो ऐन । तपाईंहरु हुनुहुन्छ र त ऐन बन्यो नि । तपाईंहरु नभए ऐन कसरी बन्छ ?’ २० दिनदेखि काठमाडौंमा आन्दोलनरत शिक्षकहरुले पटक–पटक सरकारसँग वार्ता गरे पनि विद्यालय शिक्षा ऐन जारी हुनुपर्ने अडान राखिरहेका छन् ।
ऐन पास नभएसम्म काठमाडौंका सडक नछोड्ने अडान उनीहरूको रहेको छ । सरकारले भने ऐन बाहेकका विषय तत्कालै मन्त्रिपरिषद्बाट सम्बोधन गर्ने भन्दै शिक्षकहरुलाई आन्दोलन फिर्ता लिएर विद्यालयमा जान आग्रह गरिरहेको छ ।