काठमाडौं । पूर्व शिक्षामन्त्री शिशिर खनालले आन्दोलनरत शिक्षकहरूको माग शिक्षा मन्त्रालयले मात्र पूरा गर्न सम्भव नभएको बताएका छन् ।
शिक्षामन्त्री विद्या भट्टराईको राजीनामापछि सामाजिक सञ्जाल एक्समा लेख्दै उनले यस्तो भनेका हुन् । शिक्षक, कर्मचारीहरूको धेरै विषय आर्थिक पक्षसँग जोडिएको भन्दै खनालले अर्थ मन्त्रालय र प्रधानमन्त्रीको सहयोगबिना माग पूरा गर्न सम्भव नभएको उल्लेख गरेका छन् ।
रास्वपा सांसद समेत रहेका उनले अहिले शिक्षा मन्त्री भट्टराईलाई बलिको बोको बनाएको आरोप लगाएका छन् । शिक्षामन्त्री भट्टराईको राजीनामा ड्राइभरको असफलताको भारी खलासीलाई बोकाउन खोजेजस्तो भएको टिप्पणी उनको रहेका छ । उनले लेखेका छन्, ‘आन्दोलनरत शिक्षकहरूको माग धेरै माग शिक्षा मन्त्रालय वा शिक्षा मन्त्रीले मात्र पूरा गर्न सक्ने खालका छैनन् । शिक्षक, कर्मचारीहरूका धेरै विषय आर्थिक पक्षसँग जोडिएका छन् । अर्थ मन्त्रालय र प्रधानमन्त्रीको सहयोग बिना सम्भव नै छैन ।’
तीनै मन्त्रालय एउटै पार्टीका छन् तर अहिले हेर्दा ‘बलिको बोको’ शिक्षा मन्त्रीलाई बनाइँदै छ । प्रधानमन्त्रीसँग छलफल गरेर गए पनि शिक्षक आश्वस्त हुन नसकेपछि आन्दोलन गरिरहेका छन् । ड्राइभरको असफलताको भारी खलासीलाई बोकाउन खोजेको जस्तो भयो ।’