सोमवार, आश्विन १९ गते २०८३

शिक्षकहरूलाई प्रचण्डले भने– पटक–पटक धोका भएको छ, आन्दोलन नरोक्नू

मंगलवार , बैशाख ९, २०८२

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आन्दोलनलाई निरन्तरता दिन शिक्षकहरूलाई आग्रह गरेका छन् । नेपाल कम्युनिस्ट पार्टीको ७७ औं स्थापना दिवस पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

विद्यालय शिक्षा ऐनको माग गर्दै शिक्षकहरू गत चैत्र २० गतेदेखि काठमाडौंको सडकमा आन्दोलन गरिरहेका छन् । पटक-पटक सरकारसँग वार्ता गरे पनि सफल हुन सकेको छैन । पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले भने शिक्षकहरूले पटकपटक वार्ता गरेर पनि असफल भएको भन्दै यो पटक धैर्यतापूर्वक आन्दोलन जारी राख्न आग्रह गरेका हुन् ।

प्रचण्डले भने, ‘शिक्षक साथीहरूलाई धैर्यतापूर्वक आन्दोलनलाई निरन्तरता दिन पनि अपिल गर्न चाहन्छु । तपाईंहरूले पटक पटक आन्दोलन गर्नुभएको, पटक-पटक सम्झौता गर्नुभएको छ र पटक-पटक धोका भएको छ, यो पटक त्यो स्थिति हुन नदिने जिम्मेवारी हामी सबैको छ । शिक्षकहरूको अझै धेरै छ ।’

उनले भने, ‘अझ हिजो अर्को एउटा घटना घट्यो । एमालेकै शिक्षामन्त्री विद्या भट्टराईले राजीनामा दिनुभयो । यसबाट पनि सरकार कति धेरै गैरजिम्मेवार छ भन्ने कुराको नयाँ प्रमाण प्रस्तुत भएको छ, यो सरकार आफ्नै बोझ थाम्नसक्ने वाला छैन । आफ्नै बोझमा दबिएर यो सकिन्छ । हामी चाहन्छौं कि सरकारले अझै पनि बुद्धि पुर्‍याओस् ।’

प्रचण्डले भने, ‘शिक्षकहरूले माग गरेको कुनै नयाँ कुरा होइन । हिजो सरकारले गरेको सहमति कार्यान्वयन गर भनेको भन्दा बाहेक केही होइन, हिजो जे सम्झौता भएको थियो, त्यो सम्झौता अनुसार ऐन बनाइदेउ भनेको मात्रै हो । तर, त्यसमा प्रधानमन्त्री असाध्यै नकारात्मक भइदिएपछि के हुन्छ ।’

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार