काठमाडौं । विराटनगर महानगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतका रुपमा सरुवा भएका सहसचिव रामचरित्र मेहतालाई महानगरपालिकाले हाजिर नगराउने जनाएको छ ।
महानगरपालिकाले आफूहरूको सहमति बिना रामचरित्र मेहतालाई प्रमुख प्रशासकीय अधिकृतमा पठाएको भन्दै हाजिरी गर्न नदिने बताएको हो । विराटनगर महानगरका नगरप्रमुख नागेश कोइरालाले महानगरपालिकाको सहमति विना संघ सरकारले प्रमुख प्रशासकीय अधिकृत पठाएकाले महानगरमा हाजिर हुन नदिने बताएका छन् । कोइरालाले आफूहरूले व्यक्तिको विरोध गर्न खोजेको नभए पनि महानगरमा एक खालको वातावरण वनेको र वातावरण बिथोल्ने किसिमको व्यक्ति पठाइ दिँदा समस्या हुने बताएका छन् ।
उनले भने, ‘सरकारले गरेको निर्णय गलत छ निर्णय सच्चिएर नआएसम्म कसैलाई पनि प्रमुख प्रशासकीय अधिकृतका रुपमा हाजिर हुन दिँदैनौँ ।’ नेपाल सरकार सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मंगलबार ४७ जना सहसचिवको सरुवा गरेको थियो । जसमा रामचरित्र मेहतालाई विराटनगर महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा सरुवा गरिएको हो ।
मेहताले इटहरी उपमहानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी सम्हालेका वेला उपप्रमुखसँगको विवादमा जोडिएका थिए ।