काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भोलि (शुक्रबार) को संसद् बैठकमा सम्बोधन गर्ने भएका छन् ।
भोलिबाट बजेट अधिवेशन सुरु हुँदैछ । उक्त अधिवेशनको पहिलो दिन नै प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने कार्यक्रम तय भएको नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलाले जानकारी दिएका छन् । उनले भने, ‘भोलिको बैठकमा प्रधानमन्त्रीज्यूले देशवासीका नाममा सम्बोधन गर्नुहुन्छ, समसामयिक विषयमा धारणा राख्नुहुन्छ ।’
अहिले विद्यालय शिक्षा विधेयक माग गर्दै २१ दिनदेखि शिक्षकहरु आन्दोलनमा छन् । शिक्षकहरुलाई आन्दोलन रोक्नेगरी भरोसा दिलाउन सम्बोधनमार्फत प्रधानमन्त्री ओलीले प्रयास गर्नेछन् । सरकारले शिक्षकहरुले मागिरहेको विद्यालय शिक्षा विधेयक यही अधिवेशनबाट पारित गर्ने तयारी भएको छ ।