काठमाडौं । शिक्षा विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्तले आन्दोलरत शिक्षकलाई वार्तामा आउन आग्रह गरेका छन् । शिक्षामन्त्री पन्तले प्रेस विज्ञप्ति जारी गर्दै संवाद तथा छलफल गरी सामूहिक रुपमा समाधानका उपाय खोज्न यथाशीघ्र शिक्षक महासंघलाई वार्तामा आउन आह्वान गरेका हुन् ।
उनले विज्ञप्तिमार्फत शिक्षक प्रतिनिधिहरूसँगको यथोचित छलफल र परामर्शबाट विधेयकको मस्यौदा तयार गरिएकाले विद्यालय शिक्षा विधेयक चाँडै जारी होस् भनेर शिक्षक तथा कर्मचारीको चासो हुनु स्वभाविक भएको बताएका छन् । निरन्तर संवाद तथा छलफलपछि सामूहिक रुपमा समाधानको उपाय खोज्न पनि वार्ता गर्नुपर्ने उनको भनाइ रहेको छ । चैत्र २० गतेदेखि आन्दोलनरत शिक्षकहरूले २४ दिनदेखि सडक आन्दोलन जारी राखेका छन् ।
शुक्रबारको प्रतिनिधिसभा बैठकअघि शिक्षामन्त्री पन्तले देशको बजेट र सीमाभित्र रहेर समाधान खोज्न आफू तयार रहेको बताएका छन्। उनले भने, ‘शिक्षकहरुलाई लचिलो भएर वार्तामा आउन आग्रह गर्छु । संविधानको सीमाभित्र, ऐन कानुन र देशको बजेटले भ्याउने सीमाभित्र रहेर समाधान खोज्न तयार छु, ।’
सवोच्च अदालतले हिजो दिएको आदेश सबै पढेपछि मात्र के गर्ने भनेर भन्ने पनि बताएका छन् । सर्वोच्च अदालतले बिहीबार तीन दिनभित्र शिक्षकलाई विद्यालयमा फर्किने वातावरण बनाउन आदेश दिएको थियो ।